भ्रष्टाचारीसँग कुनै पनि प्रकारको सम्झौता गर्दैनौँ : प्रधानमन्त्री 

बुधबार, जेठ ३१, २०८०

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् ।

बुधबार बिहान पूर्वशिक्षामन्त्री एवं माओवादी केन्द्रका दिवङ्गत नेता डिआर पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ । कतिपयले आशंका गरेको देख्छु– सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु– सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहीँ सम्झौता हुँदैन, झुकिँदैन ।’

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवहरू हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल लगायतका नेताहरू सहभागी थिए ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्