कर्णाली प्रदेश

कर्णाली समृद्धिको अभियान थाल्दैछौँ : मुख्यमन्त्री शर्मा

सोमबार, जेठ २९, २०८०

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको अभियान थालिएको बताएका छन् ।

नागरिक लगानी कोष शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेतको उद्घाटन कार्यक्रममा आज उनले साधन स्रोतले सम्पन्न कर्णालीको विकास र उन्नतिका लागि समृद्धिको अभियान थाल्ने नीति तथा कार्यक्रम ल्याइएको बताएका हुन् । 

“कर्णालीमा गरिबी छ,” उनले भने, “यद्यपि साधन स्रोतको उच्च प्रयोग हुन सके सिङ्गो राष्ट्रलाई पाल्ने क्षमता राख्छ ।” 

‘शिक्षा, स्वास्थ्य र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारालाई मूल आधार बनाएको प्रदेश सरकारले कृषि र वन पैदावरमा आधारित उद्योग स्थापना गर्ने बताउँदै उनले प्रतिवर्ष यहाँका १० हजार बेरोजगार युवालाई रोजगार दिएर स्वरोजगार बनाउने नीति लिइएको बताए । यसले प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच पूरा गर्ने उनले दाबी गरे ।  

कर्णालीमा वित्तीय संस्थाहरु नागरिक केन्द्रित हुन नसकेको उनको भनाइ छ । नागरिकको सेवामा केन्द्रिन हुन नागरिक लगानी कोषलाई आग्रह गर्दै मुख्यमन्त्री शर्माले कर्णाली सरकार कोषको साथमा रहने विश्वास दिलाए ।

नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले नागरिकको सुविधालाई केन्द्रमा राखेर सेवा विस्तार गरिएको बताए । कोषको शाखा कार्यालय सुर्खेत स्थापनाले नागरिकको पहुँच वृद्धि हुने र यसले कर्णालीको आर्थिक विकासमा सहयोग पुग्ने अध्यक्ष थापाको भनाइ थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्