अर्थमन्त्रीलाई सांसदले सोधे– अमेरिकीहरु वैदेशिक रोजगारीमा किन नगएका ?

सोमबार, जेठ २९, २०८०

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटका बारेमा सांसदहरुले विभिन्न प्रश्नहरु सोधेका छन् । प्रतिनिधिसभाका सदस्यहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग प्रश्न सोधका हुन् । 

अर्थमन्त्रीसँग सांसदहरुले रमाइला प्रश्नहरु पनि सोधका छन् । केही सांसदले जिल्ला नै गाभ्ने प्रसंग पनि उठाएका छन् भने केही सांसदले अमेरिकीहरु विदेशमा काम गर्न किन गएनन् भन्ने प्रश्न पनि गरेका छन् ।

सांसदहरुको प्रश्न आफ्नो क्षेत्रमा बजेट किन परेन, परियोजनाले किन गति लिएन भन्ने प्रकारका थिए । आज अर्थमन्त्रलाई प्रतिनिधिसभामा सोधिएका प्रश्नमध्ये केही सांसले सोधका प्रश्नहरु यहाँ समावेश गरिएको छ ।

रघुजी पन्त

अहिले अर्थमन्त्रीले उठेका प्रश्नहरुको केही जवाफ दिनुभयो । तर, प्रश्नहरु अझै पनि निरुत्तर छन् । अर्थमन्त्रीज्यूले बजेट पेश गर्नुभन्दा अगाडि प्याजको भाउ ५० रुपैयाँ किलो थियो । हिजो ८५ रुपैयाँ थियो र आज सय रुपैयाँ नाघेको छ । तैपनि कतिपय ठाउँमा पाइदैन । आलुको भाउमा २० देखि २५ रुपैयाँसम्म बृद्धि भएको छ । तर, नेपाली किसानहरुको तरकारी र गोलभेडा अहिले पनि बारीमा खेर पाल्ने क्रम जारी छ । त्यसैले उहाँलाई मेरो प्रश्न के भन्दाखेरी उहाँले बजेट पेश गर्नुभन्दा अगाडिको भाउमा आलु र प्याज कहिले पाइन्छ ? दोस्रो प्रश्न– झण्डै ४ खर्बको ... (१ मिनेटको समय सकिएकोले उनको प्रश्न के थियो भनेर सुन्न पाइएन)

ठाकुर गैरे

१७ प्रतिशत पुँजीगत बजेट खर्च भएकोलाई उहाँ (अर्थमन्त्री) ले २७ प्रतिशत भनेर दिउसै रात पार्ने अर्काे प्रयत्न गर्नुभयो । त्यस्तो काम यस्तो गरिमामय सदनमा नगर्दा राम्रो हुन्छ । पाल्पा जिल्ला चै यो देशमा पर्छ कि पर्दैन भनेर प्रश्न गर्नुपर्ने ठाउँमा म छु । मैले धेरै चोटी यो प्रश्न गरेँ । म हेपिएको अवस्थामा छु । मेरो निर्वाचन क्षेत्रप्रति सरकारको किन बक्रदृष्टि हो ? 

शिशिर खनाल

अर्थमन्त्रीज्युले बजेट पेश गर्नुअघि कालिमाटी बजारमा प्याजको मूल्य ३५ रुपैयाँ थियो । अहिले ७० प्रतिशत बढेर ६० रुपैयाँ छ । उपभोक्ता मूल्य ६० देखि १२० रुपैयाँ भएको छ । शतप्रतिशत बढेको छ । अर्थमन्त्रीज्यूसँग पोलिसी चोइस ट्याक्स बढाउने कि सब्सिडी बढाउने भन्ने थियो । यो वर्ष तलबहरु पनि बढाएका छैनौं । त्यसैले इन्फ्लेसन एडजस्टेड तलव घटेको छ । यस्तो बेला मिडल क्लास मानिसले हरेक दिन प्रयोग गर्ने कुराहरुमा किन ट्याक्स पोलिसी इन्ट्ुमेन्टको कुरा हो, त्यो बताइदिनुस् ।

प्रेम सुवाल

चुरे क्षेत्रको ढुंगा गिटी बालुवा दोहनमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीकै हात रहेको हुँदा सिडिओहरु हामी यसमा केही गर्न सकिरहेका छैनौं भनिरहेका होइनन् र ? अबको मन्त्रिपरिषद बैठक चुरेमा बस्नुपर्ने होइन र ? नेपाल मजदुर किसान पार्टीले अर्थमन्त्रीज्यूलाई राखेको सुझाव बजेटमा सम्बोधन गर्नु भएन, यसको अर्थ नेपाली जनतालाई थप दुःख दिनु होइन र ? विषाधी भएको तरकारी र फलफूलमा भ्याट लगाएर बजेट बनाउनु नेपालको कृषि उत्पादनलाई ध्वस्त बनाउनु किन होइन ? ८० लाख युवालाई विदेश पठाएकै कारण खाद्यान्न आयात गर्नु परेको होइन र ? वैदेशिक रोजगारीबाट देश विकास हुने भए अमेरिकीहरु वैदेशिक रोजगारीमा किन गएनन् ? अमेरिकाले धेरै देशका मानिसलाई किन भित्र्याउँदै छ ? लोककल्याणकारी राज्यमा आर्थिक माफियाहरुलाई जेल पठाउनु पर्ने होइन र ? आफ्ना निर्वाचन क्षेत्रमा प्रधानमन्त्री र मन्त्रीहरुले धेरै बजेट राख्नु वडाअध्यक्ष जस्तै होइनन् र ?

राजेन्द्रप्रसाद पाण्डे 

अर्थमन्त्रीज्यूले आलु प्याजमा समेत भ्याट लगाउनु भयो । त्यो भ्याट लगाएको चै अहिले स्पष्टिकेसनको क्रममा नेपाली उत्पादनलाई बढाउन भनेर लगाएको भन्नुभयो । आज भ्याट लगाएर रातारात उत्पादन बढ्छ ? त्यसका लागि कुनै कार्यक्रम चाहिदैन ? दोस्रो कुरा, अतिरिक्त हुलाक खारेज गर्नुभयो, महिनाको ७–८ हजार तलब खाएर ११ हजार कर्मचारीले काम गर्थे । त्यो ११ हजारको रोजगारी खोसियो । अब तिनको बन्दोबस्त के गर्नुहुन्छ ? सरासर रोजगारी खोस्ने काम तपाईंको निर्णयले भएको छ भने यो अपराध हो कि होइन ? तेस्रो कुरा, बजेट असन्तुलन भयो । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा मात्रै बजेट केन्द्रीत भयो । (समय सकिएकोले थप सुन्न सकिएन)

दिलेन्द्रप्रसाद बडू

प्रधानमन्त्री र मन्त्रीहरुको प्रतिवद्धताको विपरित महाकाली करिडोर अन्तरगत कोशेढार तिंकर सडकलाई छुट्टै बजेट विनियोजन गर्ने काम किन हुन सकेन ? दोस्रो, गुेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने हो वा विश्वविद्यालय ? यो दुबै एउटै एउटै हो भन्ने ढंगले स्पष्ट गर्नुभयो । तर, स्पष्ट भएन । थप स्पष्ट गरिदिनु हुन अनुरोध गर्दछु ।

प्रभु साह

अबैध रुपमा खर्बाै रुपैयाँ विदेश गइरहेको कुरा गरेका थियौं, त्यसको जवाफ आएन । आम जनतासँग लिने करलाई नेताको क्षेत्रमा मात्रै विनियोजन गर्ने काम भएको छ । यसको विषयमा पनि जवाफ आएन । कथित पुरस्कारको नाममा सरकारी पैसालाई व्यक्तिको खातामा पुर्याउने काम भइरहेको छ भनेका थियौं, यसको पनि जवाफ आएन । केन्द्रमा मात्रै बजेट थुपार्ने, प्रदेश र स्थानीय तहलाई २२ प्रतिशत मात्रै दिने काम असन्तुलन भयो, यसलाई सुधार्ने कुरा गरेका थियौं, त्यसमा पनि जवाफ आएन । सबैभन्दा बढी राजस्व उठ्ने तराई मधेश अहिले पुरै अन्याय भएको देखिन्छ, असन्तुलन भएको देखिन्छ । 

देवेन्द्र पौडेल

सालझण्डी ढोरपाटन सडक अन्तरगत बुर्तिबाङ ढोरपाटन सडकको कुरा किन आएन ? उत्तरगंगा जलाशययुक्त परियोजना कहाँ हरायो ? रिजालचोक अर्गल ताराखोला सहिदमार्ग भन्ने सडक मैले अर्थमन्त्रीजीलाई भनेको थिएँ, कहाँ हरायो ? विद्यालय कर्मचारीको समस्या विगतदेखि कै हो । यसपाली हल होला भनेको कहाँ हरायो ? माननीय अर्थमन्त्रीले देशभरीका विद्यालय कर्मचारीहरुलाई जवाफ दिनुपर्ने होइन र ?

डोलप्रसाद अर्याल

मैले मेरो देशको प्रधानमन्त्री कुनै पार्टीको र कुनै जिल्लाको होस भन्ने चाहन्नँ । राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो चाहदैन । त्यसैगरी अर्थमन्त्री पनि । अर्थमन्त्रीजीले अघि जवाफ दिदै गर्दा गोलमटोल गरेर जवाफ दिनुभयो । बैकल्पिक सहायक राजमार्ग विकास शिर्षकमा ५ अर्ब २० करोड ५७ लाख रुपैयाँ बजेट छुट्टयाइएको छ । त्यसमध्येृ झण्डै ४६ प्रतिशत गोर्खा, नुवाकोट र डडेल्धुराको लागि छ । त्यो मात्रै होइन, बुढानिलकण्ठ जस्तो स्कुल डडेलधुरामा चाहिन्छ भने मधेश प्रदेशमा किन चाहिदैन ? मधेश प्रदेशको जनता चै पूरै साक्षार भइसकेका छन् ? 

दिपक गिरी

तुलसीपुर तोरीगाउ एयरपोर्ट मन्त्रीले आफ्नो बजेट भाषणमा पनि सम्बोधन गर्नुभयो । त्यसको लागि धन्यवाद । प्रधानमन्त्रीजीले पनि आफ्नो प्रश्न उत्तर कार्यक्रममा राख्नुभएको थियो । वास्तवमा त्यो एयरपोर्टको लागि कति बजेट विनियोजन भएको छ, त्यो स्पष्ट गरिपाउँ, धन्यवाद ।

सूर्य थापा

बजेटको गन्थन सधै मन्त्रीमुखी चल्दै आएको छ । बहस छलफलमा समय खेर फाल्ने । कुनै सुधार नहुने । यो प्रक्रिया चल्दै आएको छ । यसपाली पनि हामीले त्यही सनातन धर्म निर्वाह गर्यौं । म सोध्न चाहन्छु– गठबन्धनको उम्मेदवार भइ निर्वाचित भएका व्यक्तिहरु बाहेक, मुख्य गरेर एमालेको उम्मेदवार बनेर जितेका जिल्ला र निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्दा किन पूर्वागु्रह र पक्षपात गर्नुभयो ? प्राय प्राय मन्त्रालयस्तरीय कार्यक्रमहरु शुन्य जस्तै छन् । प्युठानको नौमुरे बहुउदेश्यीय योजना र लुंग्रिमाडी सिंचाई आयोजनाका बारेमा किन मौन रहनु भयो ? 

माधव सापकोटा

मैले ओरेन म्याग्नसाइटको बारेमा अर्थमन्त्रीजीको ध्यानाकर्षण गराएको थिएँ– जवाफ पाउन सकिनँ । ३७ करोड, ५० करोडका विभिन्न ठेक्का सम्झौता भएका छन्, पुस्तक पढ्दा जम्मा १० लाख पैसा छ । यो व्यवस्थापन कसरी हुन्छ ? बाह्रबिसेदेखि तातोपानी लिपिङसम्म मित्रराष्ट्र चीनसँग सीमा जोडिएको सडकका बारेमा विशेष योजना आओस भनेको थिएँ । त्यसको बारेमा केही जवाफ पाउन सकिएन । धुलिखेलदेखि लिपिङसम्मको अरनिको राजमार्गको डिपिआर बनोस भनेको थिएँ, त्यसको पनि जवाफ पाइएन । विपद व्यवस्थापनको बारेमा नीति कार्यक्रममा कतै बोलिएन र अहिले बजेटमा पनि त्यो कुरा आएन । 

गोकर्ण विष्ट

प्लेटोको एउटा भनाइ छ– विधि, विवेक र न्यास समाप्त भयो भने राज्य लुटेराहरुको बैधानिक समुहमा परिणत हुन्छ । म यही आरोप त लगाउन चाहदैन । तर, २ दिन अगाडी अर्थमन्त्रीज्यूले नुवाकोटमा गएर म नुवाकोटकै भएकोले बेसी बजेट हालेको छु भनेर बोल्नु भएछ । बजेट राख्नको लागि अर्थमन्त्री बन्नुपर्ने, प्रधानमन्त्री बन्नुपर्ने, मन्त्री बन्नुपर्ने हो भने अरु जिल्लाका जनताले विकास र न्याय कहिले पाउने ? कसरी पाउने जवाफ पाउँ ।

महेशकुमार बर्ताैला

यो बजेटमा जताबाट हेर्दा पनि प्रधानमन्त्रीको, अर्थमन्त्रीको र ठूला नेताहरुको मात्रै अनुहार देखिने भयो । यसका लागि यहाँहरुलाई धेरै धेरै धन्यवाद छ, बधाई छ । डाडुपन्यू हातमा थियो, तपाईंहरु सफल हुनुभयो । हामीले पटक पटक उठायौं मध्यवर्ती क्षेत्र र निकुन्ज क्षेत्रमा बन्यजन्तु र मानवका बीचमा निकै ठूलो समस्या छ । अफसेट सोलार बारको कुरा पटक पटक उठयौं । त्यो क्षेत्रका जनता मरिरहेका छन् । त्यो विषयमा सिंगो बजेट मौन छ । मेरो निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २, कैलाश गाउँपालिका, मनहरि गाउँपालिका लगायत क्षेत्रमा चेपाङ र जनजातिको बाहुल्य भएको क्षेत्र । गरिबी असाध्यै छ । अशिक्षा छ । ती चेपाङहरुको बारेमा, बनकरिया र बोटेहरुका बारेमा यो बजेट यो सरकार असाध्यै अनुदार देखिएको छ । त्यस सम्बन्धमा जवाफ चाहन्छु ।

गोकुलप्रसाद बास्कोटा

अर्थमन्त्रीज्यूले सबैकुरा स्वीकार गर्नुभयो, एउटा कुरा स्वीकार गर्नुभएन, त्यो हो हामीले भनेको सुझाव । मैले हिजो एउटा बुक बढेको थिए– गुनासो तल्लो तहमा निकासा गरेकोमा २ लाख २ लाख कति ठाममा छ, त्यो हेर्नुहोला । भौतिक पूर्वाधार मन्त्रालयको अर्थमन्त्री स्वयमले भन्नुभयो कितावमा हेर्नुस । त्यसको ९७, ११४, ११५ र ११६ हेर्नुस् त्यसपछि गोर्खा र नुवाकोट थाहा भइहाल्छ । अर्काे, मदन भण्डारी विश्वविद्यालयबारे मैले १० चोटी भनेँ । एक शब्द बोल्नु भएन । म जवाफ चाहन्छु । डिजास्टरको बारेमा भन्नै परेन– आगो लागेपछि कुवा खन्छ यो सरकारले । करकार बारेमा बेस फराकिलो हुनुपर्छ भन्नुभयो । नेटफ्लिक्सले के गरेको छ ? ओटीटी विजनेस के भएको छ ? युटुवहरु, फेसबुकहरु, गुगल बल्ल आयो । यी सबै (समय सकिएकोले बाँकी सुन्न पाइएन)

दामोदर भण्डारी

सुदुरपश्चिमको गेटाको बारेमा अर्थमन्त्रीज्यूको अमुर्त खालको कुराकानी आयो । उहाँले विश्वविद्यालय बनाउन खोज्नुभएको हो कि प्रतिष्ठान बनाउन खोज्नुभएको हो ? मुर्त जवाफको अपेक्षा गर्दछु । हवाई सेवामा लगाइएको करका कारणले काठमाडौँ दिल्ली सस्तो भएको छ, काठमाडौँ धनगढी महंगो भयो । यो दिल्ली मर्काको सरकारको कारणले हो कि ? यसैगरी, विकासको अनुभूतिको लागि डडेलधुरमा जन्मनु पर्ने ? त्यसो हो भने बैतडी, बझाङ, डोटीलाई डडेल्धुरमा गाभौ अर्थमन्त्रीज्यू । 

सूर्यप्रसाद ढकाल

७७ जिल्लामा बाँके पर्छ । ७५३ पालिकामा ८ वटा पालिका बाँकेमा पर्छन् । ६ हजार ७ सय ३४ वटा वडामा ८१ वटा वडा बाँकेमा पर्छन् । ७ प्रदेशमा लुम्बिनी प्रदेशभित्र बाँके पर्छ । पश्चिमका २४ वटा जिल्लाको शिक्षा, स्वास्थ्य रोजगारीको पहिलो जिल्ला हो । बाँके जिल्लामा बजेट विनियोजन गर्दा किन पक्षपातपूर्ण व्यवहार गरियो ? 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्