टोखा–छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा. महत

आइतबार, जेठ २८, २०८०

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा डा. महतले यस्तो जानकारी दिएका हुन् ।

‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पूँजी होइन । यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो । चर्चा भयो, ठोस पहल भएन । अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं । यद्यपि यसमा विदेशी सहयोग आउने सम्भावना छ,’ अर्थमन्त्री डा. महतले भने ।

विदेशी सहयोग नआए पनि यो सुरुङमार्ग निर्माणको प्रकृया हामी अगाडि बढाउने उनको भनाइ छ । उनले आगाी आर्थिक वर्ष नै सबै काम हुने भन्ने पनि नभएको बताए ।

‘यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो होइन, सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको छ । अब यसले नुवाकोटको कृषि, उद्योग व्यवसाय, पर्यटनलाई यो सुरुङमार्गलाई ठूलो सहयोग पु¥याउँछ । यो निर्माण सम्पन्न हुनका लागि हामीले केही वर्ष पर्खिनु पर्ने हुन्छ,’ उनले भने ।

अर्थमन्त्री डा. महतले स्रोतको सिमितताको कारण आफूले र प्रधानमन्त्रीले चाहेका कतिपय कार्यक्रम समावेश गर्न नसकिएको पनि बताए ।

‘बजेटका विषयमा धेरै चर्चा परिचर्चा भएका छन् । स्रोत जुटाउन कठिन छ हाम्रा लागि, राजस्व कम उठेको थियो, विदेशी सहयोग, आन्तरिक ऋण जोडर बजेट बनाउनुपर्ने हाम्रो बाध्यता थियो । अझ ठूलो बजेट बनाउन प्रधानमन्त्री स्वयम चाहनु हुन्थ्यो, जनताका आवश्यकतालाई बढीभन्दा बढी पूर्ति गर्न सकौं, बाटो गाउँ गाउँमा पु¥याउन सकौं भन्ने सबैको चाहना हो । आम्दानी नभइ खर्च गर्न सकिँदैन’ मन्त्री डा। महतको भनाइ थियो ।

उनले लामो समयदेखि नुवाकोटमा अत्यन्तै थोरै बजेट पर्ने गरेको पनि बताए । विकास निर्माणका लागि धेरै रकम आवश्यक पर्ने गरेपनि नुवाकोटले आवश्यकता अनुसारको बजेट नपाएको उनको टिप्पणी छ ।

‘धेरै समययता नुवाकोटमा अत्यन्तै न्यून बजेट परिरहेको छ । धेरै वर्षपछि यहाँका विकास निर्माणको जुन आवश्यकता थिए, ती आवश्यकता पूर्तिका लागि हामीले सक्ने बजेट विनियोजन गरेका छौं । स्थानीय, प्रदेश पनि छ, त्यसैले सबै काम केन्द्रले गर्दैैन । टोल टोलमा पुग्ने बाटो केन्द्रले बनाउन सक्दैन, त्यसका लागि स्थानीय निकाय र प्रदेशले आफ्नो बजेटबाट प्रवन्ध गर्नुपर्छ । प्रदेशको बजेट पनि आउँदैछ, केन्द्रले राख्न नसकेको ठाउँमा प्रदेशले पनि राख्छ,’ उनले भने ।

आफू नुवाकोटकै भएको कारण यसपाली धेरै बजेट परेको अर्थमन्त्री डा. महतको टिप्पणी छ ।

‘म नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा थोरै बढी परेको छ । त्यो नुवाकोटको आवश्यकता हो । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर संसददेखि सडकसम्म चर्चा परिचर्चा र बहसको विषय बनेको छ । यद्यपि देशभरि हामीले बजेट पुर्याउने प्रयास गरेका छौं,’ मन्त्री डा. महतले भने ।

उनले नुवाकोटको धेरै ठाउँको लागि पनि बजेट विनियोजन गरिएको पनि जानकारी दिए ।

‘गंंगटेदेखि समुन्द्रटार मात्र होइन, थोर्पुभञ्ज्याङसम्म सडक निर्माणका लागि बजेट विनियोजन भएको छ । यसैगरी विभिन्न शीर्षकमा विभिन्न ठाउँलाई त्यहाँको विकासलाई केन्द्रित गरेर बजेट छुट्टाइएको छ । जे जायज छ, जे आवश्यक छ, जे न्यायोचित छ, हामीले बजेट विनियोजन गरेका छौं । ककनीको बाटोको कुरा पनि समेटिएको छ, त्यहाँबाट पिपलटार–त्रिशुली जाने बाटोको निर्माण व्यवसायी अदालत गएका कारण हामीले बजेट विनियोजन गर्न सकेनौं,’ उनले भने ।

उनले कृषिको सम्भावना ठुलो भएकोले उत्पादनमा अनुदानको व्यवस्था गरिएको बताए ।

‘कृषिको सम्भावना ठूलो छ, अब उत्पादनमा अनुदान दिनेछौं । जसले उद्यम व्यवसायलाई सिर्जनशील ढंगबाट अगाडि बढाउँछ । जसले उत्पादन गरेर देखाउँछ, उसले अनुदान पाउँछ । अब कृषि अनुदान दुरुपयोग हुने प्रवृत्ति समाप्त हुन्छ, वास्तविक कृषक उत्साहित हुन्छन्,’ मन्त्री महतले भने ।

बजेटको मूल लक्ष्य देशको अर्थतन्त्रलाई चलायमान बनाउने, राजस्वको आकार बढाउने, त्यसमार्फत् अर्को बर्ष धेरै बजेट विनियोजन गर्न सकिने अवस्था सिर्जना गर्ने उनको भनाइ छ । मन्त्री महतले आवश्यकताका आधारमा नुवाकोटले पाउनुपर्ने बजेट यस वर्ष सुनिश्चित गरिएको बताए ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्