टिप्पणी :

गेरु वस्त्रधारी प्रचण्ड मोदीका लागि अझ ‘कम्फर्टेबल’ ! 

मंगलबार, जेठ २३, २०८०

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्षको हैसियतमा मात्र रहेको बेला पुष्पकमल दाहाल प्रचण्डले केही वर्षअघि एउटा टेलिभिजन अन्तर्वार्ता दिए । सो बेला एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

सो अन्तर्वार्तामा प्रचण्डले भारतलाई नेपालमा कम्फर्टेबल सरकार चाहिएको बताएका थिए । यो निकै विवादित बन्यो । विशेषगरी, एमाले पक्षले उछितो काढ्यो ।

पछि यसलाई प्रष्टीकरण दिँदै प्रचण्डले आफूले चीनको पनि नाम लिएको तर त्यसको हेक्का कसैले नगरेको दुखेसो पोखे । हुन पनि उनले पहिले भारत भनिसकेपछि मिलाउन चीनका लागि पनि कम्र्फटेबल भनेका रहेछन् ।

ओलीको बहिर्गमनपछि गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । ५ महिनायता प्रचण्डले फेरि पालो पाएका छन् ।

भारतलाई पनि कम्फर्टेबल सरकार बनाउने वकालत गरेका प्रचण्ड प्रधानमन्त्री भएको ५ महिनापछि सोही देशको भ्रमणमा गए । त्यहाँको एक मन्दिरमा उनी प्रखर हिन्दूको रुपमा गेरु वस्त्र लगाएर पूजापाठ गरिरहेको देखिए ।

prachanda in indian temple (5)1685698954.png

प्रचण्डले श्रीमती सीता दाहालको स्वास्थ्यलाभको कामना गर्दै उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका थिए ।

महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०८ किलोग्राम रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।

यसले एक किसिमको तरंग छायो ।  किनकि, प्रचण्ड सैद्धान्तिक रुपमा नास्तिक हुन् ।

माक्र्सवादी सिद्धान्तले धर्मलाई अफिम मान्छ । हुन पनि प्रचण्ड नेपालका आराध्यादेव तथा विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा कहिल्यै गएर दर्शन गरेको सार्वजनिक भएको छैन । उनको नेतृत्वमा भएको १० वर्षे सशस्त्र द्धन्द्धको समयमा हिन्दू धर्मविरोधी गतिविधि भएको आरोप लाने गर्छ ।

तर, उनै प्रचण्ड भारत भ्रमणका क्रममा भने गेरु वस्त्रमा देखिए । 

पशुपतिनाथको मन्दिरमा कहिल्यै गएर दर्शन नगरेका प्रचण्डले भारत भ्रमणका क्रममा भने गेरु वस्त्र लगाएर मन्दिर गएपछि कतै उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि कम्फर्टेबल भएका त होइनन् भन्ने प्रश्न उठिरहेको छ ।

विशेषगरी, पछिल्लो समय भारतमै हिन्दूराष्ट्रको मुद्दा उठिरहेको छ । यसका लागि भारतले आफूभन्दा पहिले नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहन्छ । नेपालमा त यो मुद्दा पहिलेदेखि नै उठिरहेकै हो । हिन्दूराष्ट्र र राजसंस्था फर्काउन स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाह नै पटक–पटक भारत भ्रमणमा निस्किएको बताइन्छ । 

यद्यपि, भारतको संस्थापन पक्ष राजसंस्था नै फर्काउने पक्षमा नपुगिसकको बरु हिन्दूराष्ट्रको मुद्दा स्थापित गर्ने सबल पात्र खोजिरहेको विश्लेषण गरिएको छ । त्यसका लागि उसले नेपालमा विभिन्न पात्रहरूको परीक्षण गरेको चर्चा छ । यद्यपि, पछिल्लो परीक्षणका पात्र भने प्रचण्ड भएको अनुमान गर्न सकिन्छ । प्रचण्डका पछिल्ला गतिविधिले नै यसको पुष्टि गरिरहेका छन् ।  किनकि, उनकै पार्टी माओवादी केन्द्रमा समेत हिन्दूराष्ट्र र धर्मनिरपेक्षताबारे जनमत संग्रहको गर्न माग उठिसककेको छ ।

अर्कोतिर हिन्दूधर्म र राजसंस्थाको पक्षधर पार्टी राप्रपा नै अहिले प्रचण्ड र भारतीय संस्थापनप्रति सशंकित देखिएको छ । यसको उदाहरण, राप्रपाले प्रचण्डको भारत भ्रमणलाई संसद्मा धेरै कोणले असफल भएको साबित गर्न खोज्यो । 

यता, प्रचण्डले भने धार्मिक कामलाई निरन्तरता दिन छोडेका छैनन् । उनी आजै मात्र खप्तड गएर भारतीय गुरू रामदेवसँग योग गर्दैछन् ।

प्रचण्डको नयाँ अवतारपछि खास हिन्दूराष्ट्रको मुद्दा उठाएका पार्टी र नेताहरूलाई अफ्ठ्यारो परिरहेको भान हुन्छ– कतै हाम्रो भाग प्रचण्डले नै खोस्ने होइनन् भनेर !

राजनीतिक परिदृश्य जस्तो देखिए पनि यता प्रचण्डले भने आफू धर्मनिरपेक्ष र नास्तिक नै भएको दाबी गरिरहेका छन् । यद्यपि, उनमा आएको बदलाब देख्दा पत्याइहाल्ने अवस्था छैन । 

प्रचण्डकै नेतृत्वमा नेपाल फेरि हिन्दूधर्म सापेक्ष मुलुक होला त ? यसको उत्तर त्यति सजिलो भने छैन । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्