लिपुलेकसँग बंगलादेश जाने बाटो साट्ने भन्ने प्रधानमन्त्रीको भनाइप्रति एमाले सचिव भट्टराईको आपत्ति
काठमाडौँ– प्रतिपक्षी दलहरूको अवरोधका कारण आइतबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज सुरु भएको छ ।
बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुन नसकेको भन्दै आलोचना गरेका थिए ।
उनले लिपुलेक, लिम्पयाधुरा र कालापानीलगायतका अतिक्रमित भूमिको सट्टा भारतसँग बंगलादेश जाने बाटो माग्न सकिने भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकोे भनाइप्रति उनले आपत्ति जनाएका छन् ।
अहिले प्रधानमन्त्री प्रचण्डले बैठकमा भारत भ्रमणलगायतका विषयमा प्रष्टीकरण दिइरहेका छन् ।
आइतबार प्रतिपक्षी दलहरूले संसद्को अवरोध गरेका थिए । सो हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन् । यससँगै संसद् सुचारु हुने भएको हो ।
यसअघि सभामुख घिमिरेले आइतबार साँझ प्रधानमन्त्री प्रचण्डसँग टेलिफोन संवाद गर्दै सरकारका तर्फबाट अवरोध हटाउन पहल गर्न आग्रह गरेका थिए ।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र नागरिकता विधेयकको विषयलाई लिएर आइतबार सदन अवरोध गरेका थिए ।
चार दिने भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता गरेर नेपाल र भारतबीच ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत सम्झौता गरेका थिए ।