नागरिकता विधेयकको विरोध

अनेरास्ववियुद्वारा हेटौँडामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

बुधबार, जेठ १७, २०८०

मकवानपुर– नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन गरेको छ ।

हेटौँडाको बुद्धचोकमा कोणासभा गर्दै अनेरास्ववियुले राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालको पुत्ला दहन गरेको हो ।

राष्ट्रपति पौडेलले एकपटक फिर्ता भइसकेको विवादास्पद नागरिकता विधेयकलाई नयाँ जनादेश प्राप्त प्रतिनिधिसभामा छलफल नै नगराई प्रमाणीकरण गरेर राष्ट्रघाती काम गरेको अनेरास्ववियुले आरोप लगाएको छ ।

अनेरास्ववियु मकवानपुरका सचिव पुष्कर तिमल्सिनाका अनुसार नयाँ संसदमा भारतले नेपालको भूभाग समेटेर नक्सा बनाउँदासमेत सरकार चुप लागेको र भारत जानुअघि नागरिकता विधेयक प्रमाणीकरण गराएर भारतलाई खुसी पार्ने नाममा राष्ट्रघाती काम गरेकोले पुत्ला जलाइएको हो ।

नागरिकता विधेयकका कतिपय प्रावधानलाई लिएर यो विवादित बनेको थियो । यसैले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक रोकेकी थिइन् । तर, वर्तमान राष्ट्रपति पौडेलले भने आजै त्यसलाई सहजै प्रमाणीकरण गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाटै भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन । प्रधानमन्त्रीको भारत भ्रमणकै  दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार