नागरिकता विधेयक

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य : लोसपा

बुधबार, जेठ १७, २०८०

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएकामा स्वागत गरेको छ । 

लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरणले नागरिकताविहीनको पीडामा मलहम लगाउने काम भएको उल्लेख गरेका छन् ।

लोसपाले समग्रतामा समेत नागरिकतासम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ भन्दै यस प्रक्रियामा न्यासङ्गतरुपमा साथ सहयोग दिने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपतिबाट प्रमाणित भएको नागरिकता विधेयक स्वागतयोग्य काम भएको बताए । उनले भने, “राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको छ, यो सराहनीय कार्य हो । यो पहिल्यै हुनुपर्ने थियो, ढिलो भए पनि राम्रो भएको छ ।” नेता महतोले संविधानले नै कल्पना गरेको विषय समयमा कार्यान्वयन हुँदा नागरिकताविहीनले धेरै समस्या भोग्नुपरेको उल्लेख गरे ।

लोसपाका अर्का नेता राजकिशोर यादवले नागरिकता नपाएर पीडामा रहेकी नागरिकले नागरिक पाउनेगरी नागरिकता विधेयक प्रमाणीकरणले राम्रो काम भएको भन्दै नेपाल सरकार र राष्ट्रपतिलाई धन्यावाद ज्ञापन गरे । “संविधानमा रहेको व्यवस्थाअनुरुप संसद्बाट दुई–दुई पारित भएर गएको नागरिकता विधेयक अड्किएको थियो, अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेर सराहनीय काम गर्नुभएको छ, यसले नागरिकतासम्बन्धी समस्या समाधान हुने विश्वास छ”, नेता यादवले भने ।

नागरिकता विधेयकका कतिपय प्रावधानलाई लिएर यो विवादित बनेको थियो । यसैले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक रोकेकी थिइन् । तर, वर्तमान राष्ट्रपति पौडेलले भने आजै त्यसलाई सहजै प्रमाणीकरण गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्