नागरिकता विधेयकको विरोध

एमालेनिकट युवा संघले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला 

बुधबार, जेठ १७, २०८०

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेनिकट युवा संघले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्लादहन गरेको छ । 

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणको विषयलाई लिएर युवा संघले बुधबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालको पुत्लादहन गरेको हो ।

नागरिकता विधेयकका कतिपय प्रावधानलाई लिएर यो विवादित बनेको थियो । यसैले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक रोकेकी थिइन् । तर, वर्तमान राष्ट्रपति पौडेलले भने आजै त्यसलाई सहजै प्रमाणीकरण गरेका छन् ।

putla_dahan_PM_President_of_nepal21685545667.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाटै भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन । प्रधानमन्त्रीको भारत भ्रमणकै  दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

त्यस्तै, एमालेले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको भनी आलोचना गरेको छ । 

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद्को निर्णय र सिफारिसबाट अचानक विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्ने घटनाले पार्टीलाई स्तब्ध तुल्याएको प्रतिक्रिया दिएका छन् । उनले कानुन आवश्यकता थियो, निष्कर्षमा पुर्याउन ढिलाई भएकै हो, जारी गर्ने विधि र प्रक्रिया भने नमिलेको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्