प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री प्रचण्डसँग भारतीय सुरक्षा सल्लाहकार र विदेशसचिवले गरे भेटवार्ता

प्रधानमन्त्री प्रचण्डलाई सुरक्षा सल्लाहकार डोभाल र विदेशसचिव क्वात्राले प्रचण्ड बसेको होटेल मयुर्या पुगेर भेटवार्ता गरेका हुन् ।
बुधबार, जेठ १७, २०८०

नयाँ दिल्ली– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज चार दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई सुरक्षा सल्लाहकार डोभाल र विदेशसचिव क्वात्राले प्रचण्ड बसेको होटेल मयुर्या पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् । सो भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी भएको थियो । 

भारत पुगेका प्रधानमन्त्रीलाई नयाँ दिल्लिस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

यस्तै, प्रचण्डको सम्मानमा नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने भएका छन् । 

आजै साँझ भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका छन् ।

बिहीबार प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन हुनेछ । भोलि नै मोदीले प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

भ्रमण टोलिमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, उर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, सचिवहरु तथा उद्योगी, व्यवसायीहरुको सहभागिता छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार