भारतीय नक्साको आधिकारिकता बुझ्छु : प्रधानमन्त्री प्रचण्ड 

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सा (मुरल)बारे आधिकारिकता बुझ्ने बताएका छन् ।

माओवादी सांसदहरु पूर्णबहादुर घर्ती, लेखनाथ दाहाललगायतले नेपाली भूमि भारतको नक्सामा समावेश भएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेपछि प्रधानमन्त्री दाहालले त्यसबारे समाचारमा सुनेको र  थप आधिकारिकता बुझ्ने जवाफ दिएको एक सांसदले बताए ।

प्रधानमन्त्रीको जवाफ उद्धृत गर्दै ती सांसदले भने, ‘मैले पनि न्युज सुनेको हुँ, थप बुझौंला। आधिकारिकता के हो बुझ्छु।’

संसदीय दलको बैठकमा भारतको संसद भवनमा राखिएको नक्साको विषय उठेको तर आधिकारिकता पुष्टि नभएको सांसद लेखनाथ दाहालले बताए । भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरको नाम समेत उल्लेख भएको विषयमा मंगलबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा कुरा उठेको थियो ।

आजै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्साको बारेका प्रधानमन्त्रीले भारतसँग कुरा गर्नु पर्ने बताएका छन् । भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु रहेको भन्ने कुरा सुनिएको भन्दै उनले यदि त्यस्तो हो भने उचित नहुने बताएका छन्।

प्रधानमन्त्री १७ जेठमा चारदिने भारत भ्रमणमा जाँदै छन् । आफ्नो भ्रमणबारे जानकारी गराउँदै उनले नकारात्मक र तत्काल कार्यान्वयन नहुने विषय अगाडि नबढ्ने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्