आइपिएल :

साविक विजेता गुजरातलाई हराउँदै चेन्नाई बन्यो पाँचौ पल्ट च्याम्पियन

मंगलबार, जेठ १६, २०८०

काठमाडौँ– साविक विजेता गुजरात टाइटन्सलाई हराउँदै चेन्नाई सुपर किंग्स पाँचौ पल्ट भारतमा भएको १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि जितेको छ । 

गएराति गुजरातको अहमदाबादमा सम्पन्न फाइनलमा गुजरातलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले पराजित गर्दै चेन्नाईले पाँचौ उपाधि जितेको हो । योसँगै चेन्नाईले मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक उपाधि जितेर बनाएको कीर्तिमान बराबरी गरेको छ । 

चेन्नाई पाँचौ पल्ट नै फाइनलमा पुगेको छ । यता मुम्बई भने एक पटक फाइनलमा पराजित भएको छ । यसरी हेर्दा समग्र नतिजामा चेन्नाईले मुम्बईलाई उछिनेको छ । 

घरेलु टोली गुजरातले दिएको २१५ रनको लक्ष्य पछ्याएको चेन्नाईले ब्याटिङ गरेकोमा पहिलो ओभरमा भारी वर्षा भएपछि खेल रोकिएको थियो । लामो समय रोकिएको खेल ५ ओभर घटाएर सुरु गरिएको थियो । 

नयाँ १७१ रनको लक्ष्य चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । 

चेन्नईका लागि डेभोन कन्वेले २५ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४७ रन बनाए । चेन्नईलाई जितको लागि अन्तिम २ बलमा १० रन चाहिँदा रवीन्द्र जडेजाले छक्का र चौका हान्दै खेल जिताएका थिए ।

चेन्नईका शिवम दुबे २१ बलमा २ छक्कासहित ३२ रनमा अविजितत रहे । जडेजा ६ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे ।

चेन्नाईलाई उपाधि जित्न ओभरमा १३ रन चाहिँएको थियो । बलिङमा मोहित शर्मा आउँदा क्रिजमा दुवे र जडेजा रहेका थिए । मोहित शर्माले पहिलो बल दुवेलाई डट राखे ।

दोस्रो बलमा एक रन बटुलेपछि ४ बलमा १२ रन चाहिँएको थियो । तेस्रो बलमा जडेजाले पनि एक रन नै बटुले । चौथो बलमा पनि एक रन नै दिएपछि उपाधि कठिन बनेको थियो ।

पाँचौं बलमा जडेजाले छक्का हानेपछि खेल रोचक बनेको थियो । अन्तिम बलमा जितको लागि ४ रन चाहिँएको थियो । अन्तिम बलमा जडेजाले नै चौका हान्दै उपाधि पक्का गराएका हुन् ।

चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेले ३९ बलमा ७४ रन जोड्दै उत्कृष्ट सुरुवात गरेका थिए । गायकवाड १६ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।

यस्तै, अजिक्य राहाणे १३ बलमा २ चौका र २ छक्कासहित महत्वपूर्ण २७ रन जोड्दै आउट भए । उनी मोहित शर्माको बलमा विजय शंकरबाट क्याच आउट भए ।

अम्बाती रायुडू ८ बलमा १ चौका र २ छक्कासहित १९ रनमा आउट भए । उनले आफ्नो आइपिएलको अन्तिम खेल खेलेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनायो । 

गुजरातका लागि साई शुदर्शन र ऋद्धिमान शाहले अर्धशतकीय पारी खेले । शुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्काको सहयोगमा ९६ रन बनाए । शाहले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रन जोडे । 

पहिलो विकेटका लागि ओपनरद्वय शाह र शुभमन गिलले ४२ बलमा ६७ रनको साझेदारी गरे । पछिल्लो चार खेलमा ३ शतक बनाएका गिलले २० बलमा ७ चौकाको सहयोगमा ३९ रन बनाए ।

दोस्रो विकेटका लागि शाह र शुदर्शनले ६४ रनको साझेदारी गरे । 

कप्तान हार्दिक पान्ड्याले बलमा चौका र छक्काको सहयोगमा अविजित रन बनाए । राशिद खान शून्य रनमा आउट भए ।

चेन्नईका लागि मथिशा पथिरानाले २ तथा दीपक चहर र रवीन्द्र जडेजाले समान १-१ विकेट लिए । 

१० टोली सहभागी लिग चरणमा गुजरात शीर्ष र चेन्नाई दोस्रो स्थानमा रहँदै सिधै क्वालिफायरमा स्थान बनाएका थिए । पहिलो क्वालिफायरमा चेन्नाईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्