प्रधानमन्त्रीकाे भारत भ्रमण

भारत भ्रमणबारे प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीसमेतले दिए यस्तो सुझाव–

भारत भ्रमणका क्रममा हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छ : प्रधानमन्त्री
आइतबार, जेठ १४, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण बिषयमा पूर्वप्रधानमन्त्रीहरु र परराष्ट्रमन्त्रीहरुसंग परामर्श गरेका छन् ।

आइतबार सिंहदरबारमा भएको छलफलमा सरकारात्मक सुझाव प्राप्त भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । उनले अब पूर्वराजदूत, विज्ञको पनि सुझाव लिएर राष्ट्रको हितमा भारत भ्रमणलाई उपयोग गर्ने बताए । आफ्नो भारत भ्रमण राष्ट्रिय सहमतिमै हुने उनको भनाइ छ । 

पूर्वपरराष्ट्रमन्त्री डा नारायण खड्काले कार्यक्रममा प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन र आर्थिक व्यापारिक, वाणिज्य, ऊर्जालगायत विविध विषयमा छलफल र सहमति हुने जानकारी गराएको बताए । 

सो अवसरमा पूर्वमन्त्री खड्काले राष्ट्रको हितलाई सर्वोपरि ठानेर आत्मविश्वासका साथ आफ्ना कुरा राख्न सुझाव दिएको जानकारी गराए ।

अर्का पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको राष्ट्रिय हितमा दृढतापूर्वक उभिँदा प्रमुख प्रतिपक्ष दलको हिसाबले पूर्ण समर्थन हुने आफूले बताएको जानकारी दिए । साथै उनले भ्रमण र संवादका क्रममा इपिजी प्रतिवेदन ग्रहण गर्नका लागि जोड दिन, ऐतिहासिक तथ्यका आधारमा सिमानाको विषय समाधान गर्न, व्यापार घाटा कम गर्नका लागि नेपालमा उत्पादित सामग्री प्रवेशमा भारतलाई उदार हुनका लागि पहल गर्न, विभिन्न जलविद्युत् आयोजना अघि बढाउन पहल गर्नेलगायत विषयमा आफूले सुझाव दिएको बताए ।  

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र नेपाली जनताको आत्मसम्मानलाई दृष्टिगत गरेर तथा केन्द्रित भएर मित्रराष्ट्र भारतसँग आपसी हितका कुराकानी गरेर विश्वासको वातावरण बनाउन सुझाव दिएको बताए ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले प्रधानमन्त्री दाहालले दुई देशबीच सहयोगका बारेमा यसपालि सहमति बन्ने, समझदारी हुने र केही विषयमा सम्झौतामा हस्ताक्षर हुने जानकारी गराएको बताउँदै सिमानाको विषय समाधानका लागि अध्ययन गरेर दह्रो भएर कुरा राख्न आफूले सुझाव दिएको जानकारी गराए ।

त्यस्तै, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पारावहन, सीमा समस्या, इपिजी प्रतिवेदन बुझ्ने लगाएतका बिषयमा ध्यान केन्द्रीत गर्न सुझाव दिएको बताए । उनले नेपाल भारत पानीको विवादलाई पनि समाधान गर्नुपर्नेमा जोड दिएको जिकिर गरे ।

त्यस्तै, अन्य सहभागीहरुले राष्ट्रहितलाई केन्द्रमा राखेर वार्ता र छलफल गर्न सुझाव दिएका थिए । प्रधानमन्त्री प्रचण्डले यहि १७ गतेदेखि भारत भ्रमण गदछन् ।

प्रधानमन्त्री दाहालले यसपटकको भारत भ्रमणका क्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी, उनले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्