विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री

आइतबार, जेठ १४, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् ।

आइतबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘प्राज्ञिक क्षेत्रमा तपाईहरुले विकास र रुपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्व विद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाई प्राद्यापकहरु अनुसन्धानमा केन्द्रीत हुनुपर्दछ ।’ शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठक्रमहरु निर्माण गर्नेतर्फ प्राध्यापकहरुले ध्यान दिनुपर्ने उनँले बताए ।
विश्वविद्यालयहरु पठ्यक्रमहरु र पठनपाठनहरु सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले भने, ‘विश्वको उच्च शिक्षामा सूचना प्रविधिको विकासले मानव संशासनको स्थापनमा कृत्रिम बौद्धिकताको विकास भइरहेको अवस्था छ । हाम्रा विश्वविद्यालयहरुले सूचना प्रविधिको भरपूर प्रयोग र विकास गर्ने गरी पठनपाठन गर्नु आवश्यक छ । रोजगारी र स्वरोजगारीको एउटा मुख्य क्षेत्र सूचना प्रविधिक बनिरहेको अवस्थामा हाम्रा विश्वविद्यालयहरु पठ्यक्रमहरु र पठनपाठनहरु सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो बनाउन सकिने छ ।’

देशमा व्यप्त संस्थागत भ्रष्टाचारले आर्थिक क्षेत्र थिलथिलो परेको बताउँदै सरकार भ्रष्टाचार निर्मुल गर्दै सुसासन कामय गर्न लागिपरेको उनले बताइ । प्रधानमन्त्री प्रचण्डले मुलुकमा सुसासन कायम गर्न भ्रष्टाचार निर्मुल पार्न प्राध्यापक तथा शैक्षिक क्षेत्रको साथ महत्वपूर्ण हुने बताए ।

प्रधानमन्त्रीले भने, ‘मुलुकको अर्थतन्त्र संस्थागत भ्रष्टाचारले थिलथिलो बनेको छ । भ्रष्टाचारमुक्त सुशासन जनताको अपेक्षा हो । शैक्षिक संस्थाहरुले सदाचारको शिक्षा दिन आवश्यक छ । सुशासन र सदाचारको नमूनाको रुपमा विश्वविद्यालयहरु देखिनुपर्दछ ।’

साथै, प्रधानमन्त्री प्रचण्डले सरकार भर्खरै पारित गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट निर्माणमा लागेको जानकारी दिए । उच्चस्तरिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रका तमाम समस्यालाई समाधान गर्नुपर्ने उनले बताए । जटिल परिस्थितिकाबीच नीति कार्यक्रम पारित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम अनुसारकै बजेट ल्याउने तयारीमा सरकार लागेको बताए ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार