मेस्सीकाे किर्तिमानी गाेलसँगै ११ औं पटक फ्रेन्च लिगको उपाधि पिएसजीलाई

आइतबार, जेठ १४, २०८०

काठमाडौं - पेरिस सेन्ट जर्मेन (पिएसजीं) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै पिएसजीले एक खेल अगावै फ्रेन्च लिगको जित हासिल गरेको हो । यो जीतसँगै पिएसजीले ११औं पटक फ्रेन्च लिगको उपाधि उचालेको हो ।

पिएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहेको बखतमा शनिवार राति भएको खेलमा लियोनल मेस्सीले गरेको गोलले पिएसजीलाई उपाधि जित्न सहज भएको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५९औं मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

तर, घरेलु टोली पिएसजीले लिएको सो अग्रता लामो समयसम्म कायम रहन भने सकेन । खेलेको ७९औं मिनेटमा केभिन गेमेरियोले गोल गरे पछि स्ट्रासबर्गले बराबरीमा मात्रै खेलेन, रेलिगेसनवाट जान पनि रोकियो ।

यस बराबरीसँगै पिएसजीले ३७ खेलबाट ८५ अंक बटुलेको छ भने स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर १५औं स्थानमा छ ।

लिग वानमा मेस्सीको यो ७४ खेलमा ३२औं गोल हो । यस गोलसँगै मेस्सीले युरोपको शीर्ष पाँच लिगमा रोनाल्डोले राखेको गोलको कीर्तिमानलाई तोडे। मेस्सीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल पूरा गरेका छन् । यसअघि यो कीर्तिमान क्रिष्टियानो रोनाल्डोको नाममा ४९५ रहेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्