नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने, शुक्रबार यसरी अवरोध भयो बैठक

शनिबार, जेठ १३, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नकोे जवाफ दिने भएका छन् ।

आज दिउँसो ४ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकमा उनले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने संसद् सचिवालयले जनाएको छ ।

गत जेठ ५ मा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जेठ ७ देखि सांसदहरूले त्यसबारे छलफल गर्दै विभिन्न सवाल उठाएका थिए ।

प्रतिपक्षी दल एमाले र राप्रपाले नीति तथा कार्यक्रमको आलोचना गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइसकेका छन् । 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम थियो । तर, प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण आजका लागि सरेको हो । 

पशुपतिनाथ मन्दिरको गजुरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन भनेर पित्तल राखेको भन्दै नेपाली कांग्रेसले आरोप लगाएकोप्रति एमालेले शुक्रबार आपत्ति जनाएको थियो ।

कांग्रेसका सांसद लेखनाथ दाहाल केही दिनअघि संसद् बैठकमै ओलीले पशुपतिको गजुरमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । 

यसलाई लिएर एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरीलगायतले बैठकमा बोल्दै आपत्ति जनाएका थिए ।

त्यसलाई एमाले अध्यक्ष ओलीलगायत सबै सांसदले उठेर साथ दिएका थिए । त्यसपछि संसद् बैठक अवरुद्ध भएको थियो ।

सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् । २० मिनेटपछि पनि बैठक बस्न सकेन । त्यसपछि १२ बजे अवरुद्ध भएको बैठक ३ बजेका लागि बोलाइयो । ३ बजेपछि साँझ ६ बजेका लागि सरेको थियो । तर दुवै पक्षबीच सहमति नजुट्दा तोकिएको समयमा बैठक बस्न सकेन । त्यसपछि आजका लागि सारिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्