६१ लाखको सुनचाँदीका गरगहना चोरीमा संलग्न ३ जना पक्राउ

शुक्रबार, जेठ १२, २०८०

मोरङ– विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको रु ६१ लाख मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी यही जेठ ३ गते विराटनगर–३ पीपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी  गरी जम्मा रु ६१ लाख बराबरको गरगहना चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका–१२ बस्ने २१ वर्षीय राजकुमार कामत, सोही वडाका १९ वर्षीय विवेक कामत र श्रीकान्त दासलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

उक्त चोरीको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट आठ  जनाको टोली परिचालन गरी आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । 

निजहरूलाई जेठ १० गते राति १ बजे विराटनगर–१२ कोसी प्रोजेक्टस्थित सडक खण्डमा चोरीको सामान ३५ केजी चाँदी, आठ ग्राम सुन, दुई थान मोबाइलसहित भारतको जोगबनीमा बिक्री गर्न जाने क्रममा प्रहरीले पक्राउ गरेको हो । चोरीको घटनामा अनुसन्धानमा खट्ने सात जना प्रहरी अधिकृतसहित प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । -रासस
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्