पोखरामा आजदेखि राष्ट्रसङ्घको नमूना महासभा

शुक्रबार, जेठ १२, २०८०

गण्डकी– युथ थिङ्कर्स सोसाइटी (वाइटिएस)को आयोजना पोखरामा संयुक्त राष्ट्रसङ्घको नमूना महासभा हुने भएको छ । आजदेखि तीन दिनसम्म चल्ने पोखरा एमयुएन (नमूना महासभा)मा १५ जिल्लाका एक सय २० जना सहभागी हुने संस्थाका अध्यक्ष रिजन ढुङ्गानाले जानकारी दिए ।

विश्वले नमूना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ, यसको तयारी कसरी गर्नेलगायत विषयमा छलफल गरिने महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत गर्नेछन् । आर्थिक मन्दी, फर्जी औषधिका कारण बढ्दै गएको खतराहरू र ई–वेस्टको सुरक्षित डिस्पोजल कसरी व्यवस्थापन गर्ने विषयमा महासभा केन्द्रित हुनेछ । सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसङ्घका बारेमा पनि जान्न सकिन्छ ।

त्यस्तै, सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेषगरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायतका विभिन्न प्रक्षेपणसमेत प्रस्तुत गर्ने ढुङ्गानाले जानकारी दिए । मोडल युनाइटेड नेसन्स (एमयुएन)अन्तर्गत संयुक्त राष्ट्रसङ्घको कार्यवाहीको एक शैक्षिक अनुकरण हो । यसरी नै छनोट हुँदै युवाहरूले संयुक्त राष्ट्रसङ्घका विभिन्न समितिहरू जस्तै महासभा, सुरक्षा परिषद् आदिमा विभिन्न देशका प्रतिनिधिहरूको भूमिका खेल्न सक्नेछन् ।

नमूना महासभामा पोखराका प्रमुख अतिथि र अमेरिकी दूतावासबाट एकजना प्रतिनिधि सहभागी हुनुहुने उनले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्