नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध साढे २७ करोड बिगो कायम हुने प्रहरीको राय

सोमबार, जेठ ८, २०८०

काठमाडौँ— नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको नेपाल प्रहरीले यो मुद्दामा साढे २७ करोड बराबरको बिगो कायम हुने निष्कर्ष निकालेको छ । यो अनुसन्धानका क्रममा तत्कालका लागि साढे २७ करोड बराबरको लेनदेनको हिसाबकिताब देखिएको प्रहरी स्रोतले जनाएको छ ।

११३ जनाले दिएको २३ वटा जाहेरीका आधारमा यो रकम बराबरको बिगो कायम हुने प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

यो प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३३ जनालाई राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ ।

प्रहरीले सोमबार सरकारी वकिलको कार्यलायलाई प्रतिवेदन बुझाएको हो ।

प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आइतबारमात्रै उनीहरूलाई तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ । संलग्नको आरोप लागेका केही भने फरार छन् । 

यस घटनामा १०६ जना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको थियो । 

उक्त घटनामा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । 

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यक्ति फरार छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्