अर्थतन्त्र

१० महिनामा १२ खर्ब ४ अर्बको व्यापार घाटा

आइतबार, जेठ ७, २०८०

काठमाडौँ– चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको माल वस्तु आयात गरेको छ । 

दश महिनाको अवधिका कूल १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

विभागका अनुसार सो अवधिमा नेपालले एक खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात गरेको छ । सो अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ । आव २०७८/७९ को १० महिनाको अवधिमा नेपालले एक खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात गरेको थियो । 

गत वर्षको तुलनामा चालु आवको १० महिनामा वस्तु निर्यात २४ दशमलब ४९ प्रतिशतले घटेको छ । 

विभागका अनुसार आव २०७८/७९ मा १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको कूल आयात गरेकामा चालु आवको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको छ । 

कूल कारोबारका आधारमा आव २०७८/७९ मा १७ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको व्यापार भएकामा चालु आवको १० महिनामा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको व्यापार भएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्