ओलीको दाबी– मैले अमेरिकी राष्ट्रपति बुसलाई भनेर भुटानी शरणार्थीलाई अमेरिका लगिएको हो

आइतबार, जेठ ७, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसलाई भने अनुसार भुटानी शरणार्थीलाई अमेरिकालगायत तेस्रो देश पुनर्बास गरिएको दाबी गरेका छन् ।

आज प्रतिनिधि सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । सन् २००६ मा आफू उपप्रधान तथा परराष्ट्रमन्त्री बनेको बेलामा संयुक्त राष्ट्र संघको ६१ औं महासभामा आफूले राखेको प्रस्ताव अमेरिकाका तत्कालिन राष्ट्रपति बुसले स्वीकार गरेको ओलीको भनाइ छ ।

‘...भुटान वार्ताका राउण्ड बढाएर अन्तराष्ट्रिय समुदायमाथि छारो हाल्न चाहन्थ्यो, यो कुरा बुझेपछि मैले ६१ औं महासभामा भाग लिन गरेको समयमा संयुक्त राष्ट्र संघमा यो कुरा राखेको थिएँ । तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले दिएको रिसेप्सनमा मेरो कुरा भएको हो । मैले उहाँलाई भुटानी शरणार्थीलाई हामीले व्यवस्थापन गर्न नसक्ने बताएँ । र, तपाईहरुले डिभी भिसाबाट पनि मान्छे ल्याउने गर्नुभएकोले भुटानी शरणार्थीलाई पनि त्यसरी ल्याएर समस्या समाधान गर्न आग्रह गरेँ । उहाँले त्यसको केही दिनपछि तत्कालिन विदेशमन्त्री कोलिन पावेलसँग हुने वार्तामा यो विषय उठ्ने र त्यसको लागि आफूले पनि भनिदिने बताउनु भएको थियो । यसरी भुटानी शरणार्थीको तेस्रो देश पुनर्बास भएको हो,’ ओलीले संसदमा भने ।

ओलीले दाबी गरेको समयमा प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला थिए । सो सरकारको उपप्रधान तथा परराष्ट्रमन्त्री ओली थिए ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्