एक सातामै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था हुन्छ : यातायातमन्त्री ज्वाला

शनिबार, जेठ ६, २०८०

भक्तपुर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै अब एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।

पूर्व अरनिको यातायात प्रालिले आजदेखि सञ्चालनमा ल्याएको निःशुल्क स्कुल बस सेवाको उद्घाटन गर्दै उनले सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने सम्पूर्ण झन्झटिलो व्यवस्थाको अन्त्य गर्न आफू लागिरहेको बताए ।

मन्त्री ज्वालाले भने, “सवारी चालक अनुमतिपत्र लिन घण्टौँ लाइन बस्नुपर्ने, सेवाग्राहीले धेरै झन्झट व्यहोर्नुपर्ने, चालक अनुमतिपत्र लिन एक वर्ष कुर्नुपर्नेजस्ता यहाँभित्रका धेरै बेथिति केलाएका छौँ, त्यसको अब अन्त्य गर्छौँ, अब हप्ता दिनमै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था गर्दैछौँ ।”

नागरिकले सवारी चालक अनुमतिपत्र समयमै प्राप्त गर्नका लागि थप प्रिन्टर मेसिन खरिद गरेर लामो लाइनमा बस्नुपर्ने र लामो समय कुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए ।

कतिपय व्यवस्थालाई परिवर्तन गर्न कानुन नै बाधक बन्ने र त्यस्ता कानुनलाई संशोधन गरेर सहज बनाउँदै लानुपर्ने बताउँदै मन्त्री ज्वालाले भने, “अहिले सवारी चालक अनुमतिपत्रको नवीकरण पाँच वर्षमा गर्नुपर्ने कानुनी व्यवस्था छ, त्यसलाई संशोधन गरी १० वर्ष पुर्याउने भएका छौँ, त्यसको प्रक्रिया पनि अगाडि बढाएका छौँ, स्मार्ट लाइसेन्सको अवधि २० वर्ष तर नवीकरण गर्नुपर्ने व्यवस्था पाँच वर्षमा गर्दा व्यवहारिक पनि भएन, त्यसैले अब नवीकरणलाई १० वर्षमा गर्ने व्यवस्था गर्न लागेका हौँ ।”

सडक पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गरी राष्ट्रलाई समृद्धितर्फ लैजान आफू लागिरहेको बताउँदै मन्त्री ज्वालाले अर्थतन्त्रमा आएको सङ्कटका कारण पूर्वाधारका क्षेत्रमा लगानी बढाउन नसक्ने अवस्था आए पनि जनतासँग प्रत्यक्ष जोडिने सडक भएकाले सडक क्षेत्रमा लगानी बढाउने प्रयास सरकारले गरिरहेको बताए । आफू मन्त्री भएर आएदेखि नै सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले अलपत्र र रुग्ण अवस्थामा रहेका सडकका योजनालाई टुङ्गोमा पुर्याउन मन्त्रालयले समयमै गुणस्तरीय सडक निर्माण गर्न अभियान नै थालेको बताए । 

कार्यक्रममा पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षेत्रीले विगत ५० वर्षदेखि कोटेश्वरपूर्वका जिल्लामा सार्वजनिक यातायातको सेवा दिँदै आएको प्रालिले श्रमिकका छोराछोरीका लागि निःशुल्क पठनपाठनको व्यवस्था गर्दै आएको बताए । आजदेखि तिनै मजदुरका छोराछोरीका लागि निःशुल्क चारवटा स्कुल बस सञ्चालनमा ल्याएको यनले बताए  । 

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, काठमाडौँ उपत्यका ट्राफिक महाशाखाका प्रमुख पोषराज पोखरेललगायतले यातायात व्यवस्थाभित्र रहेका समस्यालाई समाधान गर्न आवश्यक रहेको औँल्याए । त्यस अवसरमा दुर्घटनामा निधन भएका अरनिको यातायात प्रालिका बस चालक कृष्णराम कोजूकी पत्नी लक्ष्मी कोजूलाई प्रालिको तर्फबाट रु १० लाख सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्