राजस्थानको प्ले अफ सम्भावना कायमै, पञ्जाब बाहिरियो 

शनिबार, जेठ ६, २०८०

काठमाडौँ– पञ्जाब किंग्सलाई पराजित गरेपछि राजस्थान रोयल्सले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्ले अफ प्रवेशको सम्भावना कायमै राखेको छ । 

धर्मशालाको एचपिसिएको क्रिकेट मैदानमा भएको खेलमा राजस्थान ४ विकेटले विजयी भएपछि शीर्ष ४ मा रहँदै प्ले अफमा रहने सम्भावना कायमै राखेको हो ।

एक पटकको विजेता राजस्थान १४ खेलबाट १४ अंकका साथ पाँचौ स्थानमा रहेको छ । राजस्थानको प्ले अफ प्रवेशको सम्भावना कायमै रहेको छ । यद्यपि, अब उसको प्ले अफ यात्रा अरुको नतिजामा भर पर्छ । आजको दोस्रो खेलमा लखनऊसँग कोलकत्ताको हार तथा आइतबार मुम्बई तथा बेंगलोरको हारले राजस्थानको लागि प्ले अफको ढोका खुल्नेछ । 

यता पञ्जाब १४ खेलमा १२ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ । १० टोली सम्मिलित प्रतियोगितामा उ अहिले आठौँ स्थानमा छ । 

गएराति पञ्जाबले दिएको १८८ रनको लक्ष्य राजस्थानले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । 

राजस्थानको जितमा यशस्वी जैसवाल र देवदत्त पडिकलले अर्धशतकीय पारी खेले । 

पडिकलले ३० बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए । जैसवालले ३६ बलमा ८ चौकाको सहयोगमा ५० रन जोडे ।

ओपनर जस बटलर एकै सिजनमा ५ पटक डग आउट हुने खराब कीर्तिमान बनाउँदै दोस्रो ओभरमा नै आउट भए । 

दोस्रो विकेटका लागि जैसवाल र पडिकल मिलेर ७३ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । 

चौथो विकेटका लागि सिमरन हिटमायर जैसवालले ४७ रनको साझेदारी गरे । 

सिमरन हिटमायरले ४६ तथा रियान परागले २० रन बनाए । 

धुव्र जुरेलले छक्का प्रहार गर्दै राजस्थानलाई जित दिलाएका थिए । जुरेलले ४ बलमा अविजित १० रन बनाएका हुन् ।

पञ्जाबका लागि कागिसो रबाडाले सर्वाधिक २ लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ  गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । 

पञ्जाबका लागि साम करनले ३१ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित सर्वाधिक ४९ रन बनाए । 

राजस्थानका लागि नवदीप सैनीले ३ तथा ट्रेन्ट बोल्ट र एडम जाम्पाले समान १÷१ विकेट लिए । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्