आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

शुक्रबार, जेठ ५, २०८०

काठमाडौँ– आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । आज बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

दिउँसो ४ बजे बोलाइएको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् । त्यसमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । 

सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने  संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत् नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

सङ्घीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ । उक्त बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सहभागी हुनेछन् ।

 उक्त बैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन् । 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को  दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नेछन् । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । 

सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने सम्बैधानिक व्यवस्था छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्