सांसदहरूको प्रश्नोत्तरअघि प्रधानमन्त्रीले भेटे सभामुख

बिहीबार, जेठ ४, २०८०

काठमाडौँ– सांसदहरूको प्रश्नोत्तरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई भेटेका छन् ।

उनीहरूबीच संसद् भवन नयाँ बानेश्वरमै छलफल भएको हो ।

आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरूबीच प्रश्नोत्तर हुँदैछ ।

प्रतिनिधिसभामा ६ महिनापछि प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन लागेको हो ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको थियो । तर, अहिलेसम्म पनि बैठक सुरु हुन सकेको छैन । प्रश्नका लागि २० जना सांसदले सभामुख देवराज घिमिरेलाई लिखित जानकारी गराएका छन् । तर, १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् ।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीले १५ वटा प्रश्नको जवाफ दिनेछन् ।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव २०७८-०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार