दिल्लीसँग पराजित भएपछि पञ्जाबको प्ले अफ सम्भावना कमजोर 

बिहीबार, जेठ ४, २०८०

काठमाडौँ– दिल्ली क्यापिटल्ससँग पराजित भएपछि पञ्जाब किंग्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)को समूह चरणबाट नै बाहिरिने सम्भावना बलियो बनेको छ । 

गएराति धर्मशालामा रहेको एचपिसिए मैदानमा भएको खेलमा दिल्लीसँग १५ रनले पराजित हुँदै पञ्जाब प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको हो ।

दिल्लीले दिएको २१४ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९८ रन मात्र बनायो । 

पञ्जाबका लागि लियम लिविङ्स्टोन र अर्थव ताईटेले अर्धशतकीय जारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

लिविङ्स्टोनले ४८ बलमा ५ चौका र ९ छक्काको सहयोगमा ९४ रनको विष्फोटक पारी खेले । ताइडे ४२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाउँदै आउट भए । 

दिल्लीका लागि एनरिच नोर्किया र इशान्त शर्माले समान २-२ तथा खलिल अहमद र अक्षर पटेलले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।

दिल्लीका लागि राइली रोसोऊ र पृथ्वी शाले अर्धशतकीय पारी खेले । रोसोऊले ३७ बलमा ६ चौका र ६ छक्कासहित अविजित ८२ रनमा बनाए । 

दिल्लीका लागि उत्कृष्ट सुरुआत दिने क्रममा ओपनरद्वय पृथ्वी शा र डेविड वार्नरले पहिलो विकेटका लागि ६२ बलमा ९४ रनको साझेदारी गरेका थिए । साम करनको बलमा शिखर धवनबाट क्याच आउट हुनु अघि वार्नरले ३१ बलमा ५ चौका र २ छक्का सहयोगमा ४६ रन बनाएका थिए ।

प्ले अफ दौडबाट बाहिरिइसकेको दिल्लीलाई शालाई खेलमा मौका दिएको थियो । शा ३८ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा आउट भए । दोस्रो विकेटका लागि रोसोऊ र शाको बीचमा २८ बलमा ५४ रनको महत्वपूर्ण साझेदारी भएको थियो । 

तेस्रो विकेटका लागि फिलिप साल्ट र रोसोउले ३० बलमा अविजित ६५ रनको साझेदारी गरेका थिए । साल्ट १४ बलमा २ चौका र २ छक्काको सहयोगमा २६ रनमा अविजित रहेका थिए ।

पञ्जाबका साम करनले सर्वाधिक २ विकेट लिए । 

जितसँगै प्ले अफ दौडबाट बाहिरिसकेको दिल्ली १३ खेलबाट १० अंकका साथ नवौं स्थानमा रहेको छ । 

हारसँगै प्ले अफ सम्भावना कठिन भएको पञ्जाब १३ खेलबाट १२ अंकका साथ आठौं स्थानमा झरेको छ । अब पञ्जाब प्ले अफमा पुग्न राजस्थान रोयल्सलाई फराकिलो अन्तरले हराएर मात्र पुग्दैन अरु टोलीले पनि फराकिलो अन्तरले हार्नु पर्छ ।  

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्