संविधान, संघीयता नै संकटमा पर्न थाल्यो अध्यक्ष नेपाल

सोमबार, जेठ १, २०८०

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको परिवर्तनमाथि खतरा देखिन थालेकाले कम्युनिष्टहरु गम्भीर हुनुपर्ने बेला आएको बताएका छन् ।

५९ औं विद्यार्थी दिवसको अवसरमा बिभिन्न बिद्यार्थी संगठनहरुले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको विद्यार्थी दिवस र अवको बाटो विषयक कार्यक्रममा अध्यक्ष नेपालले संविधान, संघीयता नै संकटमा पर्न थालेको भन्दै कम्युनिष्टहरुले गम्भीर भएर आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने बताएका हुन् ।

उनले मुलुकको व्यवस्था र अवस्थामा धेरै बदल्न बाँकी रहेकाले कम्युनिस्टहरू जनताको सेवामा समर्पित हुनुपर्ने धारणा राखे । उनले युवाहरुलाई मुलुकभित्र नै उत्पादनशिल काममा लाग्न सके मुलुकको समृद्धि हुने बताए ।

त्यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताए । उनले वर्तमान अवस्थामा मुलुक अग्रगमन र पश्चगमनको बीचमा मडारिरहेको जनाउँदै आगामी केही वर्ष धेरै गम्भीर हुने देखिएको धारणा राखे ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख अग्नि सापकोटाले कम्युनिष्टहरुलाई एकीकृत गरेर मुलुकमा देखिएका चूनौतिको सामना गर्नुपर्ने बताए । उनले मुलुक राष्ट्रिय रुपमा असाधारण अवस्थामा रहेको भन्दै यसलाई सामना गर्नका लागि सवै शक्ति एक हुनुपर्ने धारणा राखे । उनले आफु सभामुख हुँदा १४ सांसदमाथि कारवाहीको सूचना टाँस नगरेपछि हमलाको प्रयास भएको जिकिर गरे । 

त्यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुलुकको परिवर्तन नचाहनेहरु अहिले उत्साहित भएको भन्दै सवै विद्यार्थी युवा बर्ग सचेत हुनुपर्ने बताए । शक्तिकेन्द्रको एजेण्डालाई कार्यान्वयन गर्ने प्रयासलाई असफल पार्नुपर्ने उनको भनाइ छ । 

त्यस्तै, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको संसदीय व्यवस्थाका कारण मुलुकमा समस्या देखिएको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताए । उनले कम्युनिष्टहरुलाई अव हार्ने छुट नरहेको अव लुटेराहरुको व्यवस्थालाई हटाउनुपर्ने जिकिर गरे ।

उनले शैक्षिक रुपान्तरण गरेर मुलुकमा नै युवाहरुलाई परिचालन गर्ने अवस्था सिर्जना गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्