डडेल्धुराको उग्रतारा मन्दिरमा चोरी

शनिबार, वैशाख ३०, २०८०

डडेल्धुरा– सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक उग्रतारा मन्दिरमा चोरी भएको छ । अमरगढी नगरपालिका–८ मा रहेको मन्दिरमा चोरी भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजे चोरी भएको हो । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चाँदीको माला, चाँदीको मुकुटलगायतका सामान चोरी भएको जनाइएको छ । 

उनले चोरीको खबर प्राप्त भएपछि प्रहरी टोली पठाइएको बताउनुभयो । डिएसपी भट्ट पनि उग्रतारा मन्दिर पुगेका थिए । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर सार्कीले चाँदीका पूजाका सामान चोरी भएको बताए । मन्दिरमा सिसी क्यामेरा पनि जडान गरिएको छ । सिसी क्यामेरा पूर्णरुपमा सञ्चालनमा भने नरहेको प्रहरीले जनाएको छ । 

उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन ।

अमरगढी–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब पाँच किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्