निर्वाचन आयोगले दलहरूलाई भन्यो–१ साताभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्नू

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं–निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ राजनीतिक दललाई एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन पनि निर्देशन दिएको हो ।

‘आर्थिक वर्ष २०७८÷७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्रै पेस गर्ने ८२ (बयासी) राजनीतिक दललाई आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, ईन्स्टाग्राम) का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात) दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ,’ आयोगले बिहीबार विज्ञप्ति जारी गरी भनेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलहरूलाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको जानकारी दिए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । जसअनुसार आयोगमा ८२ दलले त्यस्तो विवरण अद्यावधिक गराएका छन् । आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई त्यस्तो प्रतिवेदन पेस नगर्नुको कारण सोधेको छ ।

आयोगकाअनुसार मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकले लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् । आयोगले ती दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम किन कारवाही गर्न नपर्ने भन्दै स्पष्टीकरणसमेत सोधेको छ ।

त्यस्तै, लेखा परीक्षण प्रतिवेदन समयमा पेस नगर्ने दलहरूलाई पनि आयोगले ढिला हुनुका कारणबारे पत्राचार गरेको छ ।


 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्