आइपिएल :

चेन्नाईको प्ले अफमा पुग्ने सम्भावना बलियो

दिल्लीको लगभग सकियो
बिहीबार, वैशाख २८, २०८०

काठमाडौँ– चार पटकको विजेता चेन्नाईले सुपर किंग्स भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गर्दै चेन्नाईले प्ले अफ सम्भावना बलियो बनाएको हो ।

१२ खेलमा सातौँ जित हात पारेको चेन्नाई १५ अंकसहित दोस्रो स्थानमा छ । चेन्नाईले लिगमा अब बाँकी २ मध्ये १ मात्र खेल जिते पनि प्ले अफमा पुग्नेछ । 

सातौँ हार बेहोरेको दिल्ली ११ खेलबाट ८ अंकसहित अन्तिम स्थानमा छ  । उसको प्ले अफको सम्भावना लगभग सकिएको छ ।

चेन्नाईको घरेलु मैदान एमए चितम्बरम रंगहालामा भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि राइले रुसोले सर्वाधिक ३५ रन बनाए । यस्तै, मनीष पाण्डेले २७ र अक्षर पटेलले २१ रन जोडे पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।

चेन्नाईका लागि मथिशा पिथरनाले ३ तथा दीपक चाहरले २ विकेट लिए । यसैगरी, रवीन्द्र जडेजाले १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले ८ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

चेन्नाईका लागि शिभम दुबेले १२ बलमा सर्वाधिक २५ रन बनाए । ओपनर रुतुराज गाएकवार्डले १८ बलमा २४ रन जोडे । यस्तै अम्बाती राएडूले १७ बलमा २३ तथा रवीन्द्र जडेजाले १६ बलमा २१ रन बनाए ।

अजिक्य रहानेले पनि २१ रन नै जोडे । कप्तान महेन्द्रसिंह धोनीले ९ बलमा अविजित २० रन जोडे ।

दिल्लीका मिचेल मार्सले सर्वाधिक विकेट लिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्