राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई विराटनगर परिक्रमा

बुधबार, वैशाख २७, २०८०

विराटनगर–नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बुधबार कोसी प्रदेशको राजधानी विराटनगर परिक्रमा गराइएको छ ।  औद्योगिक एवं व्यावसायिक संघ संस्थाले राष्ट्रिय टोलीका क्रिकेटरलाई विराटनगर महानगर परिक्रमा गराइएको हो ।

एशिया कप छनोटअन्तर्गत भएको लिग टु मा उपाधि विजेता भई एशिया कपमा छनोट भएको राष्ट्रिय क्रिकेट टिमलाई उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बुधबार नगर परिक्रमा गराएको हो ।

राष्ट्रभावका गीत बजाएर क्रिकेटका समर्थकहरु हर्षोल्लाससाथ कार तथा मोटरसाइकलसहित परिक्रमा ¥यालीमा सहभागी भएका थिए । 

उनीहरूले नेपाल एसिया कपमा छनोट भएको र क्रिकेटरले मुलुकको शीर उचो बनाउन भूमिका खेलेको भन्दै खुसी साटासाट गरे । त्यसको आयोजना उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश मिलेर गरेका हुन् । 

¥यालीमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, करण केसी, ललित राजवंशी, दिपेश कँडेल, दीपेन्द्रसिंह ऐडी र पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहितको टिमले ट्रफी बोकेर नगर परिक्रमा गरेको थियो । दिपेश कँडेल र ललित राजवंशी विराटनगरकै बासिन्दा हुन् । 

क्रिकेटरलाई विराटनगरको कन्चनबारीस्थित एयरपोर्ट मोडबाट बरगाछी, तीनपैनी, मेनरोड, ट्राफिक चोक हुँदै रोडशेष चोक र त्यहाँबाट पुनः महेन्द्र चोक हुँदै बरगाछीसम्म परिक्रमा गराइएको थियो । 

एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा छनोट भएको नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा सहभागिता जनाउने छ । त्यहाँ नेपालले विश्व क्रिकेटका शक्तिशाली मुलुक भारत र पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । 

cricket11683721565.jpg

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्