नक्कली शरणार्थी प्रकरण लज्जास्पद विषय : शेखर कोइराला

बुधबार, वैशाख २७, २०८०

विराटनगर–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । यसमा राजनीतिक दबाव दिन नहुने उनको भनाइ छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले नक्कली शरणार्थीको विषय राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय हिसाबले पनि जोडिएकाले अनुसन्धान प्रभावित पार्ने कुनै सम्भावना नरहेको बताए ।

‘नक्कली शरणार्थीको विषय देशको लागि लज्जास्पद हो’, उनले भने, ‘यो राजनीतिक वृत्तमा राष्ट्रिय रूपमा आइसक्यो र यो अन्तर्राष्ट्रिय स्तरमा पनि गइसकेको छ ।’  

‘जो–जो दोषी हो उनीहरू त कारबाहीमा पर्नुपर्छ । गलत काम भएको छ । उनीहरुले कारबाहीको भागिदार बन्नुपर्छ,’ उनले भने । 

‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन,’ डा. कोइरालाले भने, ‘उनीहरुलाई कारवाही हुनुपर्छ यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’

अर्को प्रसङ्गमा नेता कोइरालाले महामन्त्री गगन थापाले असन्तुष्टि पोखेको विषय सभापतिप्रति लक्षित हुनसक्ने बताए । अहिले मन्त्री बनेकाहरू कांग्रेसबाटै बनेको भन्दै यसमा सबैसँग सल्लाह गरेरै भएको कोइरालाले बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्