प्रधानमन्त्रीको भारत र चीन भ्रमण : कहिले जाने टुंगो छैन, तयारी सुरु

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतलगत्तै चीन भ्रमणमा जाने तयारीमा छन् । कूटनीतिक संयन्त्र प्रधानमन्त्रीको भारत र चीन भ्रमणका लागि गृहकार्यमा छ । तर, भारत भ्रमणको मिति नटुंगिँदा चीन भ्रमणको मिति पनि तय हुन सकेको छैन ।

सुरुमा भारत भ्रमण गरेर फर्केपछि अर्को छिमेक चीन भ्रमण जाने प्रधानमन्त्रीको तयारी रहेको र त्यसमा काम भइरहेको प्र्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोलप्रसाद गजुरेलले बताए । ‘प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुन बाँकी छ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ,’ गजुरेलले नयाँ भने, ‘भारत भ्रमणपछि चीन भ्रमण हुन्छ । चीनबाट निमन्त्रणा आइसकेको छ ।’

प्रधानमन्त्री प्रचण्डले भारत र चीन भ्रमण गरेर दुवै छिमेकी नेपालका लागि उत्तिकै महत्वपूर्ण छन् भन्ने सन्देश दिन चाहेका छन् । ‘आवश्यक समयमा चीन भ्रमण हुन्छ, त्योभन्दा अघि भारतको भ्रमण हुन्छ,’ गजुरेलले भने ।

प्रधानमन्त्रीको भारत भ्रमण वैशाख अन्तिम सातादेखि जेठको पहिलो सातासम्म हुने अपेक्षा भए पनि मिति तय भएको छैन । जेठ पहिलो सातासम्म हुन नसके सरकारको नीति तथा कार्यक्रम र बजेटभन्दा पहिला सम्भावना छैन । एक कूटनीतिक अधिकारीले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएर लम्बिएको होइन । अहिलेसम्म विभिन्न मितिका विषयमा छलफल भएको हो । तर, यही मिति भन्नेमा तय नै भएको छैन ।’

गत वर्ष बुद्धजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण भएको थियो । त्यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेका थिए । मोदीले लुम्बिनी भ्रमणका वेला नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । पारस्परिकताका आधारमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको हो ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले भारत भ्रमणपछि प्रधानमन्त्रीको चीन भ्रमण अपेक्षित रहेको बताए ।  (यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।)
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०६:५६
प्रतिक्रिया दिनुहोस्