भ्रष्टाचारविरुद्ध फाइल होइन, फायर नै खोल्नुपर्छ : कांग्रेस महामन्त्री शर्मा

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाही हुनु पर्ने माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा शर्माले भ्रष्टाचारविरुद्ध कडाइपूर्वक नीति लिनुपर्ने बताए । ‘यहिँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पु¥याउनुपर्छ भन्ने अपील र आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।’

भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा ‘निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्न’ भन्ने दृष्टिकोण लिनुपर्ने शर्माले बताए ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति रहेको कुरालाई कार्यान्वयनमा लिनुपर्ने बताए । 

पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको कुरालाई निष्कर्षमा पु¥याउनुपर्ने पनि उनको आग्रह थियो । भ्रष्टाचारको छानबिनका लागि राज्यले कुनै पनि हदम्याद राख्न नहुने शर्माको भनाइ छ ।

सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन ऐन र सरकारले ल्याएका नीतिमा विरोधाभाष रहेको पनि शर्माले बताए । उनले भने, ’अर्थमन्त्रीले एकातिर शून्य सहनशीलताको नीति लेख्नुभएको छ । अर्कोतर्फ सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधनमा भने भ्रष्टाचारको छानबिन गर्नका लागि ५ वर्षको हदम्याद राखिएको छ । यो विरोधाभाषपूर्ण छ ।’

भ्रष्टाचारको छानबिनका लागि राज्यले कुनै पनि हदम्याद राख्न नहुने शर्माको भनाइ छ । उनले थपे, ‘कुनै किन्तु–परन्तु नगरीकन भ्रष्टाचारको छानबिनको सन्दर्भमा राज्यले कठोरतापूर्वक जानका लागि कुनै पनि हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ, यो राख्ने कुरासँग सहमति हुन सकिँदैन ।’

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्