पञ्जाबविरुद्ध रोमाञ्चक जित निकाल्दै कोलकाता पाँचौ स्थानमा उक्लियो

मंगलबार, वैशाख २६, २०८०

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सविरुद्ध रोमाञ्चक जित निकाल्दै कोलकाता नाइट राइडर्स पाँचौ स्थानमा उक्लिएको छ ।

घरेलु मैदान इडेन गार्डेनमा गएराति भएको खेलमा कोलकाताले पञ्जाबलाई पाँच विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १८० रनको लक्ष्य कोलकाताले  अन्तिम बलमा पाँच विकेट गुमाएर पूरा गर्यो । कोलकाताका लागि कप्तान नितिश राणाले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए ।

आन्द्रे रसेल र रिंकु सिंहले आक्रमक ब्याटिङ गरेपछि कोलकाताले पञ्जावमाथि अन्तिम बलमा रोमाञ्चक जित निकाल्योे ।

रसेलले २३ बलमा ३ चौका र ३ छक्काको मदतमा ४२ बनाए । रिंकुले १० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रनमा अविजित रहे । रिंकुले अन्तिम बलमा छक्का प्रहार गर्दै कोलकाताको जित पक्का गरेका थिए ।

यस्तै, ओपनर जेसन रोयले २४ बलमा ३८ रन बनाए ।

पञ्जाबका लागि राहुल चहरले सर्वाधिक २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

पञ्जाबका लागि कप्तान शिखर धवनले ४७ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५७ रन बनाए ।

 

कोलकाताका लागि वरुण चक्रवतीले ३ तथा हर्षित राणाले २ विकेट लिए । सुयश शर्मा र कप्तान नितिश राणाले समान १ विकेट लिए ।

यस जितपछि कोलकाताले शीर्ष चारमा रहेर प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।

११ खेलमा पाँच जित र ६ हारको नतिजापछि १० अंक जोडेको कोलकाता लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

११ खेलबाट कोलकाता समान अंक रहेको पञ्जाब सातौं स्थानमा छ । उ रनरेटले पछि छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्