शहीद स्मारक ‘ए’ डिभिजन लिग

पुछारको पुलिस क्लबसँग बराबरीमा रोकियो मनाङ मर्स्याङ्दी

सोमबार, वैशाख २५, २०८०

काठमाडौं-  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी पुछारको पुलिस क्लबसँग बराबरीमा रोकिएको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुछारको पुलिस क्लबसँग २–२ गोलको बराबरीमा रोकिएको हो । खेलमा सुरुआती अग्रता नेपाल पुलिस क्लबले लिएको थियो । 

खेलको १६औँ मिनेटमा अहमद हिजाजीले गोल गर्दै पुलिस क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३३औँ मिनेटमा मनाङ मर्स्याङ्दीका लागि रोशन राना मगरले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ४४औँ मिनेटमा साइदजामोल डाभलोट्जोनोभले गोल गरेपछि मनाङ मर्स्याङ्दीले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो । 

पहिलो हाफमा २–१ को अग्रता लिएको मनाङ मर्स्याङ्दी दोस्रो हाफमा भने सम्हालिन सकेन । खेलको ७१औँ मिनेटमा पुलिका अहमदले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएका थिए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

बराबरीसँगै मनाङ मर्स्याङ्दी र पुलिस क्लबले अंक बाँडेका छन् । मनाङ मर्स्याङ्दी क्लब १६ खेलबाट २० अंकका साथ लिगको सातौँ स्थानमा उक्लिएको छ । पुलिस क्लब भने समान खेलबाट १६ अंकका साथ लिगको पुछारमै छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्