डा. अमरेशकुमार सिंहलाई प्रश्न– संसदमै कपडा खोलेर नाङ्गै हुन लाज लागेन ?

सोमबार, वैशाख २५, २०८०

काठमाडौँ– आजको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंह कम्मर माथिको कपडा खोलेर नाङ्गै भए । 

आफूलाई बोल्न समय दिन सभामुख देवराज घिमिरेसँग आग्रह गर्दा समय नपाएपछि विरोध स्वरुप आफूले कम्मरमाथिको कपडा खोलेको सांसद सिंहको भनाइ छ ।

सांसद सिंहले सभामुख घिमिरेसँग जम्मा २ मिनेट समय मागेको तर सो समय पनि नदिएर सभामुखले ज्याजति गरेको उनको भनाइ छ । सभामुखले समय नदिएपछि सांसद सिंहले कपडा खालेको दृश्य सार्वजनिक भए पनि उनले बोल्न लागेको विषय के थियो भन्ने चासो धेरैको छ ।

यसै सन्दर्भमा हामीले स्वतन्त्र सांसद डा. सिंहलाई टेलिफोन गरी तपाईंले आजको संसदमा के विषय उठाउनको लागि समय माग्नुभएको थियो भनेर सोधेका छौं । यस्तै, हामीले उनलाई प्रत्यक्ष प्रसारण भइरहेको संसद बैठकमा कपडा खोलेर नाङ्गै हुँदा लाज लागेन भनेर पनि सोधेका छौं ।

हाम्रो पहिलो प्रश्नमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यको जिम्मेवार पदमा बसेका व्यक्तिहरु मुछिएको भएपनि उनीहरुलाई जोगाउने षडयन्त्र भएको बारे बोल्न खोजेको बताए ।

‘तत्कालिन गृहमन्त्री र प्रधानमन्त्रीका श्रीमतीको नाम पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको छ । उनीहरुमाथि अनुसन्धान भएको छैन । तत्कालिन गृहमन्त्री र प्रधानमन्त्रीमाथि पनि अनुसन्धान भएको छैन । सानातिना व्यक्तिलाई समातेर ठूलालाई छोड्ने षडयन्त्र भइरहेको छ । ठूलाबडालाई जोगाउन अभियुक्तहरुको वयान फेर्ने काम भइरहेको छ । यस्तो नहोस्, निष्पक्ष छानवीन होस्, दोषी देखिएका व्यक्तिलाई बचाउने कार्य नहोस् भनेर बोल्न चाहेको थिएँ । सभामुखले बोल्न नदिएर नेपाली जनतामाथि ज्याजति गर्नुभएको छ,’ सांसद डा. सिंहले सिएन नेपालसँग भने ।

प्रत्यक्ष प्रसारण भइरहेको संसद बैठकमा कम्मरमाथिको कपडा खोल्दा आफूलाई कुनै लाज नलागेको पनि डा. सिंहले बताए । गरिबी र अभावको कारण अहिले जनता भोकै, नाङ्गै भएको बेलामा तिनै जनताको प्रतिनिधि नाङ्गै हुनु कुनै अनौठो नभएको उनको भनाइ छ । यस्तै, संसदीय अभ्यास भएका अन्य देशमा पनि संसदमा यस्ता घटना हुने गरेको उनको दाबी छ । 

‘खान र लाउन नपाएर अहिले जनता भोकै नाङ्गै छन् । म तिनै जनताको प्रतिनिधि हूँ । त्यसैले जनताको आवाज बोल्न नपाएर नाङ्गै हुनुपर्दा मलाई जति शर्म हुन्थ्यो, कम्मर माथिको कपडा खोलेर नाङ्गै हुँदा त्योभन्दा कम शर्म लागेको छ । फेरि यो प्रकारको विरोध नेपालमा मात्रै भएको होइन । क्यानडा, ब्राजिल जस्ता देशहरुमा पनि यस्तो हुने गरेको छ । संसदीय अभ्यासमा यो नयाँ विषय होइन,’ डा. सिँहले भने ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार