नक्कली शरणार्थी प्रकरणमा राजनीतिक प्रतिशोध साँधिएको ओलीको दाबी

आइतबार, वैशाख २४, २०८०

काठमाडौं –एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा सरकारको अनुसन्धान पद्दतिको निष्पक्षतामाथि प्रश्न उठेको दाबी गरेका छन् ।

एमाले संसदीय दलको बैठकमा आइतबार बोल्दै एमाले अध्यक्ष ओलीले यस प्रकरणमा सरकारको अनुसन्धान प्रक्रिया निष्पक्ष नरहेको दाबी गरे ।

भ्रष्टाचार र ठगीजस्ता आपराधिक कार्यमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्ने बताउँदै ओलीले तर त्यसो गर्दा राजनीतिक प्रतिशोध साँध्न नहुने उल्लेख गरे । 

‘भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नलाई जोगाउनु पर्छ भन्ने पक्षमा एमाले छैन’, ओलीले दलको बैठकमा भने, ‘तर अनुसन्धान निष्पक्ष र विश्वासिलो हुनु पर्छ, कसैलाई जोगाउने र कसैलाई फसाउने नाममा अघि बढिन्छ भने त्यो सह्य हुँदैन ।’

एमालेकै शीर्ष नेताहरू जोडिएको नक्कली शरणार्थी प्रकरणलाई सरकारले राजनीतिक रंग दिन खोजेको पनि उनले दाबी गरे ।

‘यस प्रकरणको अनुसन्धानका नाममा सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको देखिएको छ’, उनले भने । 

ओलीले देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका सत्तारुढ दल भएको आरोप लगाए । सत्तारुढ दलहरू केवल सरकार परिवर्तनको खेलमा मात्र लागेको र विकास निर्माणको काम केही पनि गर्न नसकेको उनको आरोप छ ।

१०–१० वटा पार्टी मिलेर पनि सरकार बनाउन नसकेको भन्दै ओलीले व्यङ्ग्यसमेत गरे । ‘अझै सरकारले पूर्णता पाउन सकेको छैन । १०–१० वटा पार्टीले सरकार बनाउन सक्दैन । गठबन्धन पनि कति हो टुंगो छैन । कहिले सात भन्या छ कहिले आठ, कहिले नौ, कहिले दश । राजनीतिक तामाशा देखाइएको छ’, ओलीले भने ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्