अञ्जनको ह्याट्रिकमा चर्च ब्वाइज शीर्ष स्थानमा, मनाङ र सातदोबाटोको बराबरी

शनिबार, वैशाख २३, २०८०

काठमाडौँ –अञ्जन विष्टको ह्याट्रिकप्रेरित चर्च ब्वाइज युनाइटेड न्युरोड टिम (एनआरटी)लाई ४–१ ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

च्यासल रंगशालामा भएको खेलको ४०औं मिनेटमा सुशील साहले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछाडि परेको एनआरटीले दोस्रो हाफमा थप तीन गोल खायो ।

अञ्जन विष्टले ५१औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए । त्यसको ९ मिनेट नबित्दै अञ्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीमार्फत अञ्जनले ह्याट्रि गर्दै अग्रता ४–० मा लम्ब्याएका थिए ।

इन्जुरी समयमा दिपेश आले मगरले एनआरटीका लागि एक गोल फर्काए। जितसँगै १५ खेलबाट २७ अंक जोडेको चर्च ब्वाइज युनाइटेड लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट १७ अंक जोडेको एनआरटी १०औं स्थानमा छ ।

मनाङ र सातदोबाटोको बराबरी

यस्तै, दशरथ रंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब र सातदोबाटो युथ क्लबले गोलविहीन बराबरी खेलेका छन् ।

दुवै टिमले गोलका लागि अवसर सिर्जना गरे पनि फिनिसिङ छरितो नहुँदा खेल बराबरीमा सकियो । बराबरीसँगै १५ खेलबाट १९ अंक जोडेको मनाङ लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ । समान खेलबाट २३ अंक जोडेको सातदोबाटो चौथो स्थानमा छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्