ओलीले पत्रकारलाई भने– टोपबहादुरलाई तपाईँहरूले खोज्नुस् न

शनिबार, वैशाख २३, २०८०

काठमाडौं–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि जोगाउन आफू नलागेको स्पष्ट पारेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालसँग शनिबार भएको भेटमा अध्यक्ष ओलीले भने, ‘तपाईंहरुलाई लागेको होला म अभियुक्त जोगाउन लागेको छु । केही यस्ता मान्छे छन्, जो एमालेलाई रुचाउँदैनन् । उनीहरूले हल्ला फैलाएका हुन् ।’

एमालेका सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि ओलीको सिंहदरबार दौडधुप बाक्लिएको हो ।

साथै पत्रकारले केही दिन अगाडि पूर्व मन्त्री, उपप्रधानमन्त्री भइसकेका मान्छे हराउँछन् र ? भन्नुभएको थियो । तर, आज त टोपबहादुर रायमाझी हराउनुभयो । कहाँ हुनुहुन्छ भन्ने प्रश्नमा उनले पत्रकारलाई खोज्न आग्रह गरे । अध्यक्ष ओलीले भने, तपाईँहरूले खोज्नुस् न !

अध्यक्ष ओलीले बिहीबार प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि टोपबहादुर भागेर कतै नजाने बताएका थिए । रायमाझीबारे ओलीले भनेका थिए, ‘एउटा बहालवाला सांसद, पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ ।’ तर, अर्घाखाँचीबाट काठमाडौं हिँडेका रायमाझी बोटाबाटै सम्पर्कविहीन छन् । 

पत्रकार–ओली संवाद

पत्रकार : ‘अस्ति पूर्वमन्त्री, उपप्रधानमन्त्री भइसक्या मान्छे हराउँछन् र? भन्नुभएको थियो । तर, आज त टोपबहादुर रायमाझी हराउनुभयो। कहाँ हुनुहुन्छ उहाँ ?’

ओली : ‘तपाईंहरूले खोज्नुस् न ।’

पत्रकार :  ‘तपाईंको त सम्पर्कमा हुनुहुन्छ होला नि ?’

ओली : ‘मेरो सम्पर्कमा छैनन् ।’

पत्रकार : ‘उहाँ अब कहिले आउनुहुन्छ ?’

ओली : ‘उहाँलाई नै सोध्नुस् न ।’

पत्रकार : तपाईं अभियुक्तलाई जोगाउन लागिरहनुभएको आरोप छ, के भन्नुहुन्छ ?’

ओली : ‘तपाईंहरुलाई विश्वास लाग्यो?’ केही यस्ता मान्छे छन्, जो एमालेलाई रुचाउँदैनन् । उनीहरूले हल्ला फैलाएका हुन् ।’
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार