रास्वपाले समर्थन फिर्ता लिए पनि प्रचण्ड सुरक्षित

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं –हालै सम्पन्न उपनिर्वाचनबाट संसदमा १० सिटबाट २१ सिट पु¥याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

रास्वपाले समर्थन फिर्ता लिएपनि प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सुरक्षित रहेको छ । प्रधानमन्त्रीसँग अहिले पनि बहुमत कायमै रहेको छ । 

रास्वपाले समर्थन फिर्ता लिएसँगै सरकारको भविष्यमाथि प्रश्न उठे पनि सरकारले बहुमत गुमाइहालेको छैन ।

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी), लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसदको समर्थन कायमै छ । 

२७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन बहुमत अर्थात १३८ सांसद चाहिन्छ । रास्वपाले समर्थन फिर्ता लिएपछि सरकारसँग अहिले कांग्रेसका ८७, माओवादी केन्द्रका ३२, जसपाका १२, नेकपा एकीकृत समाजवादीका १०, लोसपाका ४, नागरिक उन्मुक्तिका ४ र जनमतका ६ सांसदको समर्थन छ । यस बाहेक प्रभु साहको आम जनता पार्टीको १, जनमोर्चा १ र स्वतन्त्र सांसद अमरेशकुमार सिंहको पनि प्रचण्डलाई समर्थन कायमै छ । यो सबै संख्या जोड्दा १५८ सांसदको सरकारलाई समर्थन कायम रहने देखिन्छ ।

गत पुस १० गते नेकपा एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक पुस २६ गते विश्वासको मत लिँदा २६८ सांसदको साथ पाएका थिए । तर पछिल्ला दिनहरुमा सत्ता समीकरणमा आएको फेरबदलसँगै एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि गत चैत ६ गते दोस्रो पटक संसदबाट विश्वासको मत लिँदा प्रचण्डको पक्षमा १६२ सांसदले समर्थन जनाएका थिए ।  विपक्षमा मतदान गर्ने सांसदको संख्या ८९ थियो ।

६ चैत्रमा प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदा प्रतिनिधि सभामा रास्वपाका १९ सांसद थिए । उपनिर्वाचनपछि उसको संख्या २१ पुगेको छ । 

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि ६ चैत्रमा सरकारलाई विश्वासको मत दिएका अन्य दल र स्वतन्त्र सांसदहरुले समर्थन फिर्ता लिएका छैनन् । 

त्यसैले, रास्वपाको पछिल्लो निर्णयका बाबजुद प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्ड बहुमतको स्थितिमा छन् । 

पछिल्लो पटक रास्वपाले समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ । रास्वपाको यो निर्णयसँगै अब प्रतिपक्षमा नेकपा एमाले, रास्वपा, राप्रपा र नेमपिका गरी चार दल हुने छन् ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार