घमण्ड नगर्न प्रचण्डलाई माधव नेपालको आग्रह, गठबन्धन तोडिन सक्ने चेतावनी

बुधबार, वैशाख २०, २०८०

सुर्खेत–नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रको व्यवहारले आफू दुःखी भएको गुनासो गरेका छन् । 

अध्यक्ष नेपालले प्रधानमन्त्री भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा घमण्ड बढ्दै गएको आरोप लगाएका हुन् ।  

सुर्खेतको वीरेन्द्रनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘खासगरी माओवादी केन्द्रको व्यवहारबाट हाम्रा साथीहरू धेरै दुःखित छन् । प्रचण्डजीमा दम्भ र घमण्ड देखियो । दम्भ र घमण्डले अर्काे रावण जन्माउने काम नगर्नूस् । त्यसो हुनाले त्यो घमण्ड छोड्नूस्, समानताको व्यवहार गर्नूस् । मिलेर अगाडि बढ्नूस् ।’

‘पहिले केपी ओलीले घमण्ड गरे, पछि शेरबहादुरजीले घमण्ड गरे,  फेरि केपी ओलीले घमण्ड गरे, अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ, त्यसैले घमण्ड नगर्नूस्’, प्रचण्डप्रति लक्षित गर्दै उनले भने ।

आफ्नो पार्टी सबै कम्युनिस्ट पार्टीलाई मिलाउन चाहिरहेको तर घमण्डी प्रवृत्तिले त्यसमा बाधा पुग्ने गरेको नेपालले टिप्पणी गरे । 

‘सबै कम्युनिस्टलाई मिलाउन हामी चाहिरहेकै छौँ, जो जोसँग मिल्न सकिन्छ, मिल्छौँ’, उनले भने, ‘तर यस्ता प्रवृत्तिहरू कायम छ भने मोर्चा सोर्चाले पनि हावा खान्छ ।’  

‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं,’ उनले अघि भने, ‘तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं ।’

खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहारप्रति आपत्ति जनाए ।

उनले भने, ‘प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन ।’

उनले माओवादीको व्यवहारको आलोचना मात्र नभई निन्दा गर्न मन लाग्ने बताए । यस्तैयस्तै खालका प्रवृत्तिहरु हुर्किंदै जाँदा गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने उनको चेतावनी थियो । 

आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको कुनै दुरुपयोग नगरेको बताउँदै नेपालले  देश विकासका निमित्त आफ्नो कार्यकालमा  महत्त्वपूर्ण काम भएको दाबी गरे । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्