नेपालको आर्थिक विकास र सुधारका लागि आईएमएफले ७ अर्ब दिने

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं–अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीफएफ)अन्तर्गत करिब सात अर्ब रुपैयाँ दिने भएको छ । 

आईएमएफको बोर्ड बैठकबाट ईसीएफको दोस्रो किस्ताअन्तर्गत पाँच करोड २८ लाख अमेरिकी डलर (करिब ६ अर्ब ८९ करोड रुपैयाँ) उपलब्ध गराउने निर्णय गरेको हो ।

२०७८ सालमा आईएमएफले ईसीएफअन्तर्गत नेपाललाई ३८ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । नेपालले सर्तअनुसार काम नगरेको भन्दै आईएमएफले दोस्रो किस्ताबापतको रकम निकासा रोकेको थियो ।

आईएमएफको ऋण सहयोग नेपालको आर्थिक विकास र सुधारका लागि प्रयोग हुने जनाइएको छ ।

आईएमएफले नेपालका बैंकहरूको कर्जाको गुणस्तरका बारेमा समेत प्रश्न उठाएको छ । नेपालले चालु आर्थिक वर्षमा ४.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने आईएमएफको प्रक्षेपण छ ।

कोरोनापछि पुनरूत्थान भइरहेको अर्थतन्त्रमा चुनौती थपिएको आईएमएफको निष्कर्ष छ ।

आईएमएफको सर्तअनुसार नेपालले ठूला १० बैंकका लेखापरीक्षण बाह्य फर्मबाट गराउनुपर्नेछ ।

आईएमएफले दिएको रकम नेपालको अर्थतन्त्र सुधारका लागि प्रयोग हुने र नेपालका सरकारी अधिकारीले यसमा प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्