उपेन्द्र यादवले लिए शपथ

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं–प्रतिनिधि सभा उपनिर्वाचनमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले सांसद पदको शपथ ग्रहण गरेका छन् । उनलाई सभामुख देवराज घिमिरेले मंगलबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

वैशाख १० गते भएको उपनिर्वाचनमा यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

वैशाख १० गतेकै उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्रनम्बर १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै शपथ ग्रहण गरिसकेका थिए । यादव काठमाडौं उपत्यका बाहिर रहेकाले सो दिन उनको शपथ ग्रहण हुन सकेको थिएन ।

'आफू स्थिरताको पक्षमा'

अध्यक्ष यादवले सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । अस्थिरताले कसैलाई हित नगर्ने भन्दै उनले आफू सरकारको स्थायीत्वको पक्षमा रहेको बताए ।

प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरिसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले भने, ‘सरकारले पूरा कार्यकाल गर्नुपर्छ भन्ने पक्षमा हामी छौं । अस्थिरताले कसैलाई हित गर्दैन ।’

अध्यक्ष यादवले पार्टीको तर्फबाट सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्ने पनि बताए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्