सानिमा बैंकद्वारा दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । 

बैंकका खातावाला उदयकुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । 

सानिमा बैंकका मधेस प्रदेश प्रमुख दीपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् । मृतक उदयकुमारले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेका थिए । 

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, १० हजारसम्मको ओपिडी भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधि उपचार बीमा, २५ हजारको आवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्