नार्पाभूमि सडक सुविधाबाट वञ्चित, बिरामी बोक्न हेलिकप्टरको भाडा व्यहोर्नुपर्ने बाध्यता

शुक्रबार, वैशाख १५, २०८०

मनाङ– सडक सुविधाबाट वञ्चित मनाङको नार्पाभूमि गाउँपालिकाले बिरामीलाई हेलिकप्टरमा उद्धार गर्दैआएको छ । सडकको पहुँच नहुँदा यहाँका बासिन्दा उपचार गर्न समस्या हुने गरेको छ । यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले कुल भाडाको ५० प्रतिशत बेहोर्दै बिरामीलाई हेलिकप्टरमार्फत उपचारमा सहयोग गर्न थालेको हो । 

मनाङको विकट क्षेत्रमा पर्ने नार्पाभूमि सडकमार्गको पहुँचमा हालसम्म  पुग्न सकेको छैन । स्थलमार्गको सहज पहुँच नहुँदा बिरामी उपचारका लागि हेलिकप्टरको भर पर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामाले बताए । ‘गम्भीर बिरामीलाई उपचारको व्यवस्था गर्नु हाम्रो दायित्व हो,’ उनले भने ।

जिल्लामा भरपर्दो स्वास्थ्य सेवा छैन । गम्भीर वा जटिल प्रकृतिका बिरामीलाई पोखरा, काठमाडौँलगायत ठाउँका अस्पताल लैजान हेलिकप्टर चार्टर्ड गर्नुरेको उनले बताए । पालिकाले विपन्न स्थानीयवासीको उपचारका लागि हेली चार्टर्डमा ५० प्रतिशत खर्च व्यहोर्ने गरेको लामा बताउँछन् ।  

‘हेलिकप्टर चार्टर्ड गर्न पालिकावासी सबै सक्षम छैनन्, त्यसैले विपन्नलाई उपचार तथा स्वास्थ्य पहुँचमा पु¥याउन यो निर्णय गरेका हौँ,’ अध्यक्ष लामाले भने । हालसम्म पालिकाले सात गम्भीर तथा जटिल प्रकृतिका बिरामीलाई ५० प्रतिशत खर्च व्यहोरेर हेलिकप्टर चार्टर्डमार्फत उपचारका लागि अस्पतालसम्म पुर्याएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्