लुम्बिनीको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त

बिहीबार, वैशाख १४, २०८०

बुटवाल- नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । 

प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश सभाको बहुमत ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

२७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए । त्यसपछि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार नै बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी पेश गरेका थिए । चौधरीलाई ८ राजनीतिक दलका ५२ र एक स्वतन्त्र गरी ५३ सांसदको समर्थन रहेको छ ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री चौधरीले शपथ भने शुक्रबार लिनेछन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्