‘ए’ डिभिजन लिग फुटबल

थ्री स्टार र मछिन्द्रले बराबरीमा अंक बाँडे, सातदोबाटोसँग संकटा पराजित

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा  थ्री स्टार र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । 

बराबरीसँगै थ्री स्टार १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै, मछिन्द्र १२ खेलमा १७ अंक जोडेर सातौं स्थानमा रहेको छ । 

त्यसैगरी, बुधबार नै च्यासल मैदानमा भएको खेलमा सातदोबाटो क्लबले संकटा क्लबलाई ४–० गोल अन्तरले हराएको छ । 

सातदोबाटोको जितमा विलियम एसिडेउ र दीपक सिंह ठकुरीले दुई दुई गोल गरे । खेलको दशौँ मिनेटमा विलियमले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा विलियमले व्यक्तिगत दोस्रो गोल गर्दा सातदोबाटो २–० ले अघि रह्यो । 

खेलको ६८ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई ४–० को जित दिलाए । सातदोबाटोको यो छैटौं जित हो । 

सातदोबाटो १२ खेलमा २१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । संकटा १२ खेलमा १५ अंक जोडेर नवौं स्थानमा रहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्