चुनावी परिणामबारे विश्वप्रकाशको प्रतिक्रिया– हामीलाई रूपान्तरित हुन सन्देश दियो 

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रूपान्तरित हुन सन्देश दिएको बताएका छन् । 

उनले आज समाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

सन्देशअनुरूप आफूलाई बदलेर अब नयाँ ढंगले जुट्नुपर्ने महामन्त्री शर्माले औँल्याएका छन् ।

उनले मतदाताको निर्णयलाई सम्मान गर्ने स्पष्ट पारेका छन् ।

‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ,’ उनले ट्विटरमा लेखेका छन्, दाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उनले लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ।’

प्रतिनिधिसभा उपनिर्वाचन भएका तीनवटा क्षेत्रमध्ये चितवन २ र तनहुँ १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तथा बारा २ जनता समाजवादी पार्टी (जसपा)ले जितेका छन् । 

उम्मेदवारी दिएका चितवन २ र तनहुँ १ मा कांग्रेस लज्जास्पद ढंगले पराजित भएको छ । यी दुवै क्षेत्र विगतमा कांग्रेसका गढ मानिन्थे । 

संयोगवश उपनिर्वाचनका लागि चितवनमा महामन्त्री शर्मालाई र तनहुँमा अर्का महामन्त्री गगन थापालाई खटाएको थियो ।

कांग्रेसले समर्थन गरेको क्षेत्र बारा २ मा भने जसपा अध्यक्ष उपेन्द्र यादवले जितेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार