Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचन भएका ३ वटै क्षेत्रको टुंगो लाग्यो : रास्वपालाई फाइदा, कांग्रेसले सिट गुमायो 

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ– प्रतिनिधि सभाको उपनिर्वाचनमा तीन वटै क्षेत्रमा विजयी हुने सांसदको टुंगो लागेको छ । 

गएराति बारा २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विजयी भएसँगै तीन वटै क्षेत्रको टुंगो लागेको हो । 

यसअघि चिवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तनहुँ १ मा सो पार्टीका डा स्वर्णिम वाग्ले विजयी भएका थिए । 

बारा २ क्षेत्रमा ६९ हजार १०७ मत खसेकोमा यादवले २८ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

Upendra-Yadav_jasapa1676475647.jpg 

उनका निकटम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका छन् । कुशवाहभन्दा यादवले ५ हजार ८१ मत बढी पाएका छन् । 

यस्तै, नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् ।

रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार ७३८ मत ल्याएका छन् ।

बारा २ मा ८३० मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

य क्षेत्रबाट निर्वाचित जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि पुनः उपनिर्वाचन गर्नुपरेको हो ।

यस्तै, चितवन –२ मा रास्वपा सभापति लामिछाने भारी मतान्तरले निर्वाचित भएका छन् ।

लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए  । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।

यस्तै, एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । सो क्षेत्रमा यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

लामिछानले गत मंसिर ४ मा भएको निर्वाचनमा ४९ हजार ३०० मत पाएका थिए । तर, नागरिकतासम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएपछि चितवन २ मा पुनः निर्वाचन गर्नुपरेको हो ।

चितवन –२ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

तनहुँ–१ मा रास्वपाकै वाग्ले विजयी भएका छन् । वाग्ले ३४ हजार ४८० मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरे ।

त्यस्तै, एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरे ।

मंसिर ४मा भएको निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यस क्षेत्रमा आइतबार उपनिर्वाचन भएको थियो ।

वाग्ले चैत १५ गते कांग्रेस छाडेका थिए । उनी सोही दिन रास्वपा प्रवेश गरेर तनहुँ–१ बाट उम्मेदवार बनेका थिए ।

गोरखामा जन्मेका वाग्ले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

उपनिर्वाचनको परिणामले रास्वपालाई १ सिट फाइदा भएको छ । सभापति लामिछाने र वाग्ले दुवैले भारी मतान्तरले जितेका छन् । लामिछानेले अघिल्लो निर्वाचनभन्दा झण्डै ५ हजार मत बढाएका छन् ।

यता, कांग्रसले भने १ सिट गुमाएको छ । तनहुँ कांग्रेसको गढ हो । जहाँ रास्वपालाई नतिजा सुम्पिएको छ । अन्य २ ठाउँमा भने पहिले जितेका दलले नै पुनः बाजी मारेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०६:११
प्रतिक्रिया दिनुहोस्